‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३५९ दिन अगाडि
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान

काठमाडौँ -गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ले काठमाडौँको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ ।

यस अवसरमा ५१ औँ दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन विशेष कार्यक्रम गर्दै सोमवार फिल्मका कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान गरेको छ । फिल्मका कलाकार पारस बम (कुलब्वाय), सिम्रन पन्त, हेना नगरकोटी, आशिष घिमिरे र सन्तोष बानियाँ, केदार घिमिरे, पदम तामाङ, रिहान गिरी, समा पराजुली र उमर खान लगायत सहभागी थिए ।

निर्देशक सशान कँडेलले शनिवार नै ५१औँ दिन पूरा गरे पनि विभिन्न कारणले दुई दिन ढिला गरी कार्यक्रम आयोजना गरिएको बताए ।कार्यक्रममा फिल्ममा विशेष भूमिका निभाएका लोकप्रिय कलाकार केदार घिमिरे पनि सहभागी भएका थिए । उनले ‘होस्टेल ३’मा अभिनय गरेका नयाँ कलाकारहरूको पहिलो फिल्म नै सफल भएकोमा खुसी व्यक्त गर्दै, आफ्नो छोरा आशिष घिमिरेसहित अन्य कलाकारहरूको सफलताले आफू भावुक बनेको बताए । फिल्ममा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । फिल्मका कार्यकारी निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।