म्याग्दीबाट चलचित्र 'माइतीघर’को छायाङ्कन सुरु,  कलाकारहरूलाई बाजा बजाएर स्वागत

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३५६ दिन अगाडि
म्याग्दीबाट चलचित्र 'माइतीघर’को छायाङ्कन सुरु,  कलाकारहरूलाई बाजा बजाएर स्वागत

काठमाडौं - फिल्म ‘माइतीघर’को छायाङ्कन आजबाट सुरु गरिएको छ । म्याग्दीको ताकम गाउँमा आज फिल्मको शुभ साइत गर्दै छायाङ्कन सुरु गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । स्थानीय गणेश मन्दिरमा शुभ साइत गर्दै पूजा गरियो ।

निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायाङ्कन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुनेछ ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन शुभ साइत समारोहको प्रमुख अतिथि  थिए । उनले, पहिलो पटक गाउँमा फिल्मको छायाङ्कन हुन लागेको भन्दै खुसी व्यक्त गरे । यो फिल्मबाट गाउँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पुनको छ ।

शुभ साइत समारोहमा वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेका थिए । उनले पनि उचित प्रचारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने बताए ।

शुभ साइत समारोह अघि फिल्मको टिमलाई गाउँमा बाजा बजाउँदै स्वागत गरिएको थियो । यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

मिलन तामाङको निर्देशनमा बन्ने फिल्ममा सुसन प्रजापतिको छायाङ्कन रहनेछ । फिल्मलाई दसैँको फूलपातीबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।

रोहित अधिकारी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धिरज तामाङको पनि लगानी छ । फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।

फिल्मले तामाङ संकृतिको कथा भन्नेछ । ४० दिन लगाएर फिल्मको छायाङ्कन गर्ने तयारी निर्माताको छ । निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’लाई पनि दर्शकले रुचाएका थिए ।