काठमाडौँ -फिल्म ‘जार’ वैशाख २६ गतेबाट रिलिज हुँदैछ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित कृति ‘जार’ मा आधारित रहेर निर्माण भएको फिल्मको मुख्य अभिनेत्री गीताञ्जली थापा हुन् ।
तर, फिल्मको कार्यक्रम तथा प्रचार प्रसारमा भने उनी कतै पनि देखिएकी छैनन् । त्यसैले फिल्मको मुख्य भूमिकामा अभिनय गर्ने गीताञ्जली हो हुन् भन्ने दर्शकमा कौतुहलता छ । गीताञ्जली नेपाली फिल्मका लागि नयाँ अनुहार भए पनि उनी राम्रो कलाकार भएको निर्देशक फुर्वा छिरिङ लामा बताउँछन् । नेपालमा मात्रै होइन, उनको बलिउडमा पहिचान भएको लामाको भनाई छ । ‘गीताञ्जली उम्दा कलाकार मात्रै होइन । राष्ट्रिय अवार्ड विजेता आर्टिस्ट पनि हुन्’, निर्देशक लामाले भने– ‘गीताञ्जलीले ‘लायर्स डाइस’ बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार जितेकी थिइन् ।’ गीताञ्जली नेपाली दर्शकका लागि फ्रेस अनुहार हुने उनले सुनाए । भन्छन्– ‘जार’ मा एउटै नायिका दोहोरिने अवस्था दर्शकले देख्नुपर्ने छैन ।’ गीताञ्जलीले नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’ मा पनि अभिनय गरेकी छन् । ‘जार’ मा गीताञ्जलीको अलवा सौगात मल्ल, अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो । सिक्किममा छायाङ्कन भएको फिल्मका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायाङ्कन, अखिलेश राईको सम्पादन रहेको फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ । ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्दैछ ।