काठमाडौँ - स्थानीयले गुनासो गरेपछि गृह मन्त्रालयले महोत्तरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लालबाबु कवारीलाई मन्त्रालय तानेको छ ।
वैशाख २१ गते गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णयबाट कवारीलाई तानिएको मन्त्रालयको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ । शाखाका अनुसार उनको स्थानमा सहसचिव नारायण रिसाललाई पठाइएको छ । मन्त्रालयको कर्मचारी शाखाका स्रोतले महोत्तरीकै बासिन्दा रहेका कवारीले काममा पक्षपात गरेको गुनासो आएपछि मन्त्री लेखकले मन्त्रालय तान्ने निर्णय लिएका हुन् ।
‘उहाँ जिल्ला बासी नै हुनु हुँदोरहेछ । स्थानीयहरू आएर काममा पक्षपात भयो । निर्णय पनि निष्पक्ष लिन सक्नु भएन भनेर पटक–पटक गुनासो गरे । त्यसपछि मन्त्रीज्यूबाट तान्ने निर्णय भयो,’ कर्मचारी प्रशासन शाखा स्रोतले भन्यो । कवारीको घर जलेश्वर नगरपाकिला वडा नम्बर २ महोत्तरीमा पर्छ ।