काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन । उनले पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई माओवादीले किन उचालेको भन्दै प्रश्न गरे। उनले प्रचण्डलाई बहालवाला प्रधानसेनापति र मुख्यसचिवलाई आफैँले हटाएको भन्दै आफूले गरेको बेथितितिर फर्केर हेर्न आग्रह गरे ।
उनले भने,‘ प्रचण्डलाई भन्न चाहन्छु, तपाईँले त प्रधानसेनापति नै हटाउनुभएको थियो त। एकपटक सम्झिनुस् त तपाईँले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई। अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो र अर्को मुख्यसचिव ल्याउनुभयो तपाईँले। यस्ता काम त गर्नुभयो तपाईँले।
अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठुलो चिन्ता किन गरिरहनुभएको छ ? मुटुमै गोली लागेजस्तो किन भएको छ? के भएको ।’ सांसद भट्टराईले सहसचिव लेभलको कर्मचारीको सरकारसँग ट्युनिङ नमिलेकाले सरकारले उसको एउटा बन्दोबस्त गरेको बताए । उनले कुलमान हटाउनु प्रधानसेनापति हटाएजस्तो कुरा नभएको बताए । उनले भने, ‘मुख्यसचिवलाई जगेडामा लगे राखेजस्तो होइन। यस्ता खालका बेथिति पर्याप्त भएका छन्, एक पटक सम्झिनु होला। तपाईँका पालामा के-के भएका थिए।’