भारत र पाकिस्तानबीच युद्ध रोक्न मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३४९ दिन अगाडि
भारत र पाकिस्तानबीच युद्ध रोक्न मध्यस्थता गर्ने ट्रम्पको प्रस्ताव

 काठमाडाैँ -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोक्न मध्यस्थता गर्न तयार रहेको बताएका छन्।जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जबाफमा भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो।पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ को दिन आतंककारी हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।

भारतले पाकिस्तान-नियन्त्रित कश्मिरका पाँच र पाकिस्तानका चार स्थानमा आक्रमण गरेर त्यसको जबाफ दिएको छ। भारतीय आक्रमणका कारण महिला र बालबालिकासहित ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ।उता भारतले पनि कश्मिरमा पाकिस्तानले गरेको जबाफी गोलाबारीमा १३ सर्बसाधरणको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ।यो घटनाले आणविक हतियार भएका दुई छिमेकी राष्ट्रबीच 'पूर्ण' युद्ध हुने खतरा बढाएको छ। यस्तोमा ट्रम्पले भारत र पाकिस्तानबीच युद्ध रोक्न मध्यस्थता गर्ने बताएका हुन्।‘मैले केही गर्न सक्ने भए गर्छु,’ ट्रम्पले भने, ‘मेरो दुवै पक्षसँग राम्रो सम्बन्ध छ। म दुवैलाई धेरै राम्ररी जान्दछु र म उनीहरूले यो मिलाउन् भन्ने चाहन्छु।

हवाई आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले अमेरिकी विदेशमन्त्री मार्को रूबिओलाई फोन गरेर ब्रिफिङ गरेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक वाल्जलाई हटाएपछि रूबिओले राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी पनि सम्हालेका छन्। रूबिओसँग पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल मोहम्मद असिम मलिकले पनि कुरा गरेका छन्।

भारतले अमेरिकासँगै बेलायत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र रूसलाई पनि बुधबारको हमलाबारे ब्रिफिड गरेको छ। यसबीच संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन, रूस, फ्रान्स लगायत धेरै देशले भारत र पाकिस्तान दुवैलाई संयम अपनाउन आग्रह गरेका छन्। युद्ध नभएका बेला भारतले पाकिस्तानमाथि गरेको सबभन्दा ठूलो हमला भएकाले 'पूर्ण' युद्ध सुरू हुनसक्ने खतरा महसुस गरेर उनीहरूले यस्तो आग्रह गरेका हुन्। यस्तोमा ट्रम्पले भारत र पाकिस्तानबीच सम्भावित युद्ध रोक्न मध्यस्थता गर्ने बताएका हुन्।