राष्ट्रबैंकको गभर्नर चाँडो नियुक्त गर्न सांसद खतिवडाको माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३४४ दिन अगाडि
राष्ट्रबैंकको गभर्नर चाँडो नियुक्त गर्न सांसद खतिवडाको माग

काठमाडौं - राष्ट्रबैंकमा गभर्नर रिक्त रहेको विषय बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि उठेको छ ।

प्रमुख सत्तासिन दलमध्येकै एक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्रबैंकमा तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद खतिवडाले राष्ट्रबैंक लामो समयदेखि नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै बेलैमा नियुक्त नगर्दा अनेक अड्कलबाजी चलिरहेको पनि बताए । उनले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफसमेत माग गरे । ‘धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्ड बाहिर आएको छ । योबारे के हो सरकारले जवाफ दिनुपर्‍यो,’ उनले भने ।सांसद् खतिवडाले आतंकवादविरुद्धको लडाईंमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने धारणा राखे । ‘आतंकवादविरुद्धको लडाईंमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

उनले रुस–युक्रेन, इजरायल–हमास र भारत–पाकिस्तानबीचको युद्धले नेपाललाई जोखिमयुक्त स्थितिमा पुर्‍याएको भन्दै त्यसको सामना गर्न आवश्यक तयारीमा रहन पनि सरकारको ध्यानाकर्षण गराए । ‘रुस र युक्रेनको युद्ध, इजरायल र हमासको युद्ध, अमेरिकी राष्ट्रपतिको वर्तमान नीति, चीन ताइवान एकीकरण प्रयासको प्रभाव, भारतले पाकिस्तानविरुद्ध आतंकवादविरुद्ध गरेको युद्ध जस्ता कुराले अहिले हामी झन् जोखिमयुक्त स्थितिमा छौं भन्ने लागेको छ,’ खतिवडाले भने, ‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयार होस् भने आग्रह गर्न चाहन्छु ।’