निजामती र अख्तियारसम्बन्धी विधेयकमा सरकारलाई रामहरि खतिवडाको चेतावनी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३४६ दिन अगाडि
निजामती र अख्तियारसम्बन्धी विधेयकमा सरकारलाई रामहरि खतिवडाको चेतावनी

काठमाडाैँ -राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले निजामती सेवा र अख्तियार दुरुपयोग अनुसन्धानसम्बन्धी विधेयकबारे आगामी बैठकमा सरकार स्पष्ट धारणासहित नआए प्रक्रियाअनुसार अगाडि बढ्ने चेतावनी दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा समिति सभापति खतिवडाले संघीय निजामती सेवा विधेयकलाई आगामी समितिको बैठकबाट संसदमा पेस गर्ने गरी तयारी गर्न सरकारलाई निर्देशन दिए । बैठकमा गृहमन्त्री रमेश लेखकले निजामती विधेयकमा निर्णय गर्न सरकारलाई कम्तीमा एक साता समय मागेका थिए ।  म सरकारलाई अनुरोध गर्न चाहन्छु, मान्य सदस्यहरूको धारणा बुझेर, जनताको धारणा बुझेर अब सरकारलाई आगामी बैठकमा उपस्थित हुँदा यी सम्पूर्ण कुरा क्लियर गर्ने गरी अर्को बैठकबाट निजामती विधेयक जसरी पनि संसदमा पेस गर्ने गरी हामी तयारी हुनुपर्छ । नभए हामी प्रक्रियामा जानुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यो समितिलाई राजनीतिक गन्ध नआउने समितिको रूपमा विकास गरौँ भन्ने हो । समिति हामी सबैको हो, त्यही किसिमले जाऔँ । आगामी बैठकमा उपस्थित हुँदा समितिको धारणा बुझेर उपस्थित हुन अनुरोध गर्न चाहन्छु ।’

कानुन निर्माण गर्ने क्रममा पुरानालाई समय थप्दै जाने र नयाँलाई बाटो नै बन्द गर्ने प्रवृत्ति भएमा जनमानसमा जाने धारणाबारेमा ध्यान दिन सरकारलाई उनले आग्रह गरे । ‘कानुन निर्माण गर्दै जाँदा पुरानालाई समय थप्दै जाने, नयाँलाई बाटो बन्द गर्ने प्रवृत्तिको विकास भयो भने जनमानसमा कस्तो धारणा उत्पन्न हुन्छ, त्यसमा सरकारको ध्यान जाओस् । अख्तियारको विधेयमा पनि छिटो बैठक बसेर टुंग्याउनुपर्नेछ । सरकारको स्पष्ट धारणा आओस् । नत्र समिति आफ्नो काममा अघि बढ्छ,’ उनले भने ।