युवा आन्दोलन: स्मृति, संघर्ष र सम्भावनाहरू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३३५ दिन अगाडि
युवा आन्दोलन: स्मृति, संघर्ष र सम्भावनाहरू

 काठमाडाैँ -राजनीतिक चेतना र प्रतिबद्धताको बीउ जब युवाको मनमस्तिष्कमा उम्रन्छ, त्यसले मुलुकको भविष्य निर्धारण गर्ने सामर्थ्य राख्दछ। आज म जब युवा आन्दोलनलाई फर्केर हेर्छु, त्यहाँ केवल नाराहरू र जुलुसहरू मात्र छैनन् .....त्यहाँ त त्याग, संघर्ष, प्रतिबद्धता र सिर्जनशीलताले भरिएको लामो यात्रा छ।

राष्ट्रिय युवा संघ नेपालको सिरहा, लहानमा सम्पन्न ७औं ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट सुरु भएको मेरो राजनीतिक यात्रा निरन्तररूपमा आन्दोलन, अभियान र संगठन निर्माणमा समर्पित रह्यो। तत्कालीन प्रजातान्त्रिक युवा संघको कठिन राजनीतिक घडीमा, जीवनका व्यक्तिगत अवसरहरूलाई तिलाञ्जली दिँदै म हरेक आन्दोलनको अग्रपङ्क्तिमा लागिरहेँ। त्यो समय सहज थिएन। आन्दोलनका मोर्चाहरू जटिल थिए, चुनौतीहरू कठोर थिए। तर हामीले त्यो कठोरतालाई सिर्जनात्मक र रचनात्मक ऊर्जा बनायौँ। युवासंघको आन्दोलन केवल आक्रोशको विस्फोट थिएन, त्यो परिवर्तनको सशक्त अभियान थियो, जहाँ विचार, संगठन र सङ्घर्ष एउटै लयमा बगेका थिए।हामीले त्यो समयमा देखायौँ.....आन्दोलन केवल प्रतिवाद होइन, त्यो मुलुकको समाज, विचार र नेतृत्व बदल्ने संकल्प हो। यस अभियानलाई प्रभावकारी ढंगले नेतृत्व गर्न सक्नुको प्रमुख श्रेय जान्छ तत्कालीन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष तथा आजका राष्ट्रिय राजनीतिका सम्मानित नेता आदरणीय महेश बस्नेतज्युलाई।

उहाँको मार्गदर्शनले आन्दोलनलाई केवल राजनीतिक गतिशीलतामा सीमित राखेन, बरु त्यसलाई सामाजिक रुपान्तरणको अभियान बनायो। उहाँको निर्देशन, संरक्षण र सहकार्यले मलाई राष्ट्रिय युवा संघ नेपालको ८औं महाधिवेशनमा केन्द्रीय सदस्यको रूपमा निर्वाचित हुने सौभाग्य प्राप्त भयो....त्यो क्षण मेरो राजनीतिक यात्राको एउटा निर्णायक मोड थियो।त्यस बेलाको सबैभन्दा कान्छो केन्द्रिय सदस्यको रूपमा निर्वाचित हुनु केवल पदको विषय थिएन, त्यो जिम्मेवारी, विश्वास र भावनाको गहिरो सम्बन्ध थियो। आजसम्म पनि म त्यो विश्वासको सम्मान गर्दै निरन्तर संघर्षमा छु।युवासंघको प्रत्येक महाधिवेशन, आन्दोलन र अभियानले मलाई केही न केही सिकायो.....सहिष्णुता, नेतृत्व, समर्पण, र दृष्टिकोण। राजनीतिक र पारिवारिक उतारचढावका बीच पनि मैले कहिल्यै विचलित हुनुपर्ने महसुस गरेँ। यसको कारण थियो.....नेतृत्वको स्पष्टता र आन्दोलनको उद्देश्यप्रति दृढ संकल्प।

आज पनि म राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्षहरूद्वारा देखाइएको मार्गदर्शनलाई हृदयङ्गम गर्दै युवा नेतृत्व निर्माणमा कटिबद्ध छु। महेश बस्नेतज्यू केवल नेता होइन, उहाँ युवाका लागि प्रेरणाका प्रतिमूर्ति हुनुहुन्छ....राजनीतिक दृष्टिकोण, प्रतिबद्धता र कार्यशैलीको प्रतीक।देशभरका हजारौँ युवाहरू उहाँको विचार, संगठन र नेतृत्वशैलीप्रति आस्थावान छन्। यही आस्था र ऐक्यबद्धताको जगमा उभिएर हामी राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउने प्रणका साथ अघि बढिरहेका छौँ। अन्त्यमा, म सम्पूर्ण युवाहरूलाई यो आन्दोलनप्रतिको निष्ठा, सङ्घर्ष र समर्पणको भावनाले सुसज्जित हुँदै, राष्ट्र निर्माणको यात्रामा हातेमालो गर्न हार्दिक आह्वान गर्दछु। १०औं राष्ट्रिय महाधिवेशन सम्पूर्ण युवा पुस्ताका लागि नयाँ प्रेरणा, दृष्टिकोण र समर्पणको शिखर बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

 

राजन थापा
केन्द्रीय उप-महासचिव, राष्ट्रिय युवा संघ नेपाल