काठमाडौं - टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं संस्करण शुक्रबारदेखि सुरु भएको छ । नयाँ स्वरूप, फरक प्रस्तुति र पर्दा पछाडिको कथासँगै नयाँ सिजन सुरु भएको जनाइएको छ ।
यस संस्करणको अडिसन इटहरी, पोखरा, नेपालगञ्ज, काठमाडौं, सिक्किम र दार्जलिङसम्म गरिएको थियो । नेपालीभाषी सांगीतिक प्रतिभा भारतको सिक्किम र दार्जिलिङ क्षेत्रतिर पनि हुने भएकाले यो सिजनको अडिसन ती ठाउँमा पनि गरिएको निर्देशक सुरेश पौडेलले बताए ।नयाँ सिजनमा अडिसनदेखि नै प्रतिस्पर्धीले ब्याकग्राउण्ड म्युजिकको साथमा गीत गाउने व्यवस्था गरिएको छ, जसले गर्दा कार्यक्रमको स्तर थप उचाइमा पुग्ने निर्माताको विश्वास छ ।
यस सिजनको अर्को खास पक्ष भनेको पर्दा पछाडिको कथा देखाउने प्रयास हो । हरेक एपिसोडमा शो कसरी छायांकन र सम्पादन गरिन्छ, प्रतिस्पर्धीको तयारी कसरी हुन्छ, जज तथा प्रस्तोताको भूमिकाबाट पर्दा पछाडिको संघर्ष र सिर्जनशीलता पनि दर्शकले हेर्न पाउनेछन् । निर्देशक पौडेल भन्छन्, ‘हामीले यसपटक दर्शकलाई केवल प्रस्तुति मात्र होइन, यो कार्यक्रम बन्ने प्रक्रियाको यात्रा पनि देखाउँदैछौं, जसले यसलाई अझ नजिक बनाउनेछ । प्रस्तुति र प्रविधिमा पनि नयाँ प्रयोग गरेको निर्माताको भनाइ छ ।
पहिलेका सिजनको तुलनामा दृश्य, ध्वनि र कथा भन्ने शैलीमा नयाँ प्रयोग जनाइएको छ । यो सप्ताहन्तमा सिजनका दुई एपिसोड प्रशारण भए । अडिसनबाट छानिएका प्रतिस्पर्धीमध्ये ८० जनाले थिएटर राउन्डका लागि स्थान पाएका छन् । प्रस्तोतामा आसिफ शाह छन् । निर्णायकमा न्यूह बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बासकोटा छन् । यो शो प्रत्येक साताको शुक्रबार र शनिबार बेलुकी साढे ८ बजे एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ