काठमाडौं–अभिनेता राजेश हमालद्वारा आठ वर्षपछि कमब्याक गरिएको फिल्म ‘नरसिंहाः अवतार’ अहिले प्रदर्शनको दोस्रो सातामा अधिकांश सिनेमा हलहरुमा प्रदशनरत छ । लामो समयपछि आफूले अभिनय गरेको फिल्म प्रदर्शन भएपछि सिनेमा हलमा गएर आफ्नो अभिनयको प्रतिक्रिया बुझ्नु एउटा कलाकारको कर्तव्य नै हो ।
अभिनेता हमालले पनि राजधानीका मात्र होइन, पूर्वी नेपालका सिनेमा हलसम्म पुगेर दर्शकको प्रतिक्रिया लिए ।आफ्नो मन पर्ने अभिनेतालाई आँखा अगाडि नै देख्न पाउने भएपछि दर्शकहरु पनि उत्साहित हुँदै सिनेमा हलमा जम्मा भए ।यद्यपि, सिनेमा हलहरुमा पुग्ने क्रममा अभिनेता राजेश हमाललाई पनि एउटा आरोप भनेर लागेरै छाडेको छ । यसबेला अभिनेता हमाललाई आफ्नो अभिनय रहेको फिल्म चलाउनकै लागि हल–हल पुग्दैछन् भन्ने आरोप लागेको छ । तर राजेश हमालले भने आफू फिल्म चलाउनकै लागि सिनेमा हल–हल पुगेको कुरालाई अस्विकार गरेका छन् ।
अभिनेता हमालले आफू सिनेमा हलमा यसरी पुग्नु आफू र दर्शकहरुका लागि सुनौलो मौका भएको बताएका छन् । फिल्म कै कारण दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउनु आफ्नो सौभाग्य भएको अभिनेता हमालको भनाइ रहेको छ । अभिनेता हमाल भन्छन्– ‘दर्शकसँग हाम्रो विरलै भेटघाट हुन्छ । दर्शकले प्रत्यक्ष रुपमा कलाकारलाई विरलै देख्नु हुन्छ । उहाँहरुले हामीलाई देख्ने भनेको मोबाइल, टेलिभिजनमा मात्र देख्नु हुन्छ । तर यसरी प्रत्यक्ष रुपमा दर्शकहरुले पनि कलाकारसँग उत्साह साटासाट गर्ने कुरालाई म सुर्वण अवसरको रुपमा लिन्छु । प्रत्यक्ष भेटघाटको मज्जा पनि छुट्टै हुन्छ र यसरी भेट्दा सम्झना पनि आइरहन्छ । यसरी हलमा भेट गर्न पाउँदा मलाई पनि मज्जा आइरहेको छ ।’