काठमाडौं-राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका छन्। संघको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा नवनिर्वाचित अध्यक्ष थेबे सहित नयाँ कमिटीका पदाधिकारीहरूले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण कार्यक्रममा नेकपा (एमाले) का स्थाई कमिटी सदस्य तथा मोर्चा फाँट इन्चार्ज भानुभक्त ढकाल, पूर्व इन्चार्ज तथा पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका पूर्व अध्यक्ष निरुदेवी पाल, इन्चार्ज राजिब पहारी लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष थेबेले आफ्नो दोस्रो कार्यकाललाई युवाको सशक्तिकरण, संगठन विस्तार, रोजगारीको अवसर र वैचारिक प्रशिक्षणका कार्यक्रमहरूमा केन्द्रित बनाउने प्रतिबद्धता जनाए। उनले भने, “युवालाई उत्पादनमूलक गतिविधिमा संलग्न गराउँदै देशमै अवसर सृजना गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ।”
सोही अवसरमा पूर्व अध्यक्ष तथा इन्चार्ज महेश बस्नेत, निरुदेबि पाल र अन्य नेताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै संगठनलाई थप सबल र सशक्त बनाउने दिशामा अग्रसर हुन आग्रह गरे। नवनिर्वाचित समितिमा विभिन्न भौगोलिक क्षेत्र, पेशा र पृष्ठभूमिका युवाहरूलाई प्रतिनिधित्व गराइएको छ।
संघले आगामी दिनमा राष्ट्र निर्माणमा युवाको प्रभावकारी भूमिका बढाउने गरी विविध कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको छ।