कोपनहेगन । प्रवासी नेपाली मञ्च डेनमार्कको आयोजनामा प्रवासी नेपालीहरुका सरोकारका विषयमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। असार १४ अर्थात् शनिवार नेकपा(एमाले)का केन्द्रीय सचिव, ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा गैरआवासीय नेपाली नागरिकता प्राप्ती तथा सम्पतीको व्यावस्थापनको विषयमा विशेष जोड दिइएको थियो । यसैगरि युवा पलायन तथा वर्तमान अवस्थामा नेपालको विकास र समृद्धिका लागि गैरआवासीय नेपालीको कर्तव्य र राज्यको भूमिकाका सम्बन्धमा पनि अन्तर्क्रिया केन्द्रित भएको थियो । सँगै नेपालको वर्तमान भौतिक तथा मानव संसाधन विकासको अवस्था र जनताका असन्तुष्टि, शिक्षा, स्वास्थ, पर्यटन तथा सरकारी सेवामाथिका झन्झट लगातका विषयमा पनि १७ जना बढी उपस्थितहरुले प्रतिनिधि सभा सदस्य भट्टराईमाथि प्रश्न र जिज्ञासा राखेका थिए।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले विदेशमा बसेर पनि नेपालको चिन्ता गरेकोमा सम्पूर्ण प्रवासी नेपालीहरूलाई धन्यवाद दिए । उनले गैरआवासीय नेपाली नागरिकता प्राप्ती तथा सम्पतीको व्यावस्थापनको विषय चाँडै नै राज्यले टुंग्याने र त्यसका लागि प्रवासी नेपालीहरूबाटै सल्लाह र सुझाव खाँचो रहेको बताए।
उनले देशमा युवा पलायनको अवस्था समाजिक सञ्जालमा आएका खवरहरु जस्तो खराव नभएको र विदेशमा बसेर देश वर्वाद भयो भन्ने भाष्यबाट बाहिर निस्किएर तथ्याङ्कमा रहेरमात्र कुरा गर्न अनुरोध गरे। उनले प्रवासी नेपालीहरूलाई एनआरएनएका नाममा फुटेर नभई नेपाली समाजको हितका लागि जुटेर अघि बढ्न पनि सुझाव दिए।

देशमा असन्टुस्टि र विरोधका स्वर बढिरहेपनि विकास निर्माण तथा आर्थिक सूचकहरूमा सकारात्मक परिवर्तन भएको बताउँदै देश सक्कियो, नेतृत्व खराब भयो अथवा वर्तमान नेतृत्व कर्ता खत्तम भए भन्ने भ्रमबाट सबैले बाहिर निस्कनु पर्नेमा भट्टराईले जोड दिए। उनले देश निर्माणमा प्रवासमै बसेर पनि भूमिका निवार्ह गर्न, पर्यटन प्रवर्धन तथा देशमा कसरी लगानी भित्र्याउने भन्नेतर्फ पनि ध्यान दिन आग्रह गरे।
कार्यक्रममा प्रवासी नेपाली मञ्च डेनमार्कका अध्यक्ष रोविन कार्कीले प्रतिनिधि सभा सदस्य भट्टराईलाई गैरआवासीय नेपाली नागरिकता प्राप्ती तथा सम्पतीको व्यावस्थापनको विषय चाँडै टुङ्याइदिन आग्रह गरे । माननिय भट्टराई संसद् र सरकारको प्रतिनिधि भएकाले पनि देशको हित हुनेगरि प्रवासिका मागहरुप्रति समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरे।
यस्तै अध्यक्ष कार्कीले डेनमार्कमा रहेका प्रवासी नेपालीहरू राजनीतिका नाममा फुटेर नभई एक भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले संघसंस्थाको जन्म विभिन्न आस्था र विस्वासका आधारमा भएपनि यिनिहरूको उद्देश्य भनेको विदेशमा बस्ने नेपालीहरूको हित र नेपालको हितमा हुनुपर्ने बताए।
डेनमार्क कोपनहेगनको रेन्टेमेस्टभाए (Rentemestervej 67D)मा सम्पन्न कार्यक्रममा डेनमार्का बस्दै आएका नेपाली, नेपाली समुदाय केन्द्रित विभिन्न संघ-संस्थाका प्रतिनिधि, एनआरएनए डेनमार्कका प्रतिनिधि तथा नेकपा एमाले का शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्