‘गुन्यो चोलो’का कारण नाजिरले हटाए इन्स्टाग्रामबाट सबै पोस्ट, किन यति धेरै समर्पित ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४७६ दिन अगाडि
‘गुन्यो चोलो’का कारण नाजिरले हटाए इन्स्टाग्रामबाट सबै पोस्ट, किन यति धेरै समर्पित ?

काठमाडौं - अभिनेता नाजिर हुसेनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्रामबाट हालसम्मका सम्पूर्ण पोस्टहरू हटाएका छन् ।

अभिनेता हुसेनले करिब २०० जति पोस्टहरू उनले एकैपटक हटाएका हुन् । उनको इन्स्टाग्राममा अहिले कुनै पनि पुराना पोस्टहरू देखिँदैनन्, ‘अचानक यस्तो किन ?’ धेरैलाई लाग्न सक्छ ।उनले इन्स्टाग्रामबाट सम्पूर्ण पोस्टहरू हटाउनुको पछाडि भने एउटा विशेष कारण रहेछ, त्यो हो चलचित्र ‘गुन्यो चोलो’ ।झन्डै तीन वर्ष लामो तयारीपछि अब यो चलचित्र दर्शकमाझ आउने तयारीमा छ र यसको रिलिज मिति चाँडै सार्वजनिक हुँदैछ । यही पृष्ठभूमिमा नाजिरले आफ्नो इन्स्टाग्राम पोस्टहरू हटाएका हुन् ।अहिलेको समय ‘गुन्यो चोलो’का लागि पूर्णरुपमा समर्पित गर्न चाहेका कारण यस्तो कदम चालेको उनको भनाइ छ ।

“तीन वर्षको मेहनतपछि हामी यो चलचित्र दर्शकमाझ ल्याउन आँट्दैछौं । यो समय म भावनात्मक रुपमा चलचित्रसँग निकै जोडिएको छु । त्यसैले, केही समय सामाजिक सञ्जालमा ‘गुन्यो चोलो’ बाहेक केही राख्न चाहन्न,” नाजिरले बताएका छन् ।“यो मेरो व्यक्तिगत निर्णय हो । यसमा निर्देशक वा निर्माताको कुनै संलग्नता छैन । यो मेरो प्रोमोसनल शैली हो जसबाट म दर्शकलाई देखाउन चाहन्छु कि यो चलचित्रका लागि म कति समर्पित छु,” उनी भन्छन् ।नाजिरले आफ्नो पुराना सबै पोस्टहरू ‘डिलिट’ होइन, अस्थायी रूपमा ‘आर्काइभ’ गरेका हुन् । चलचित्र रिलिजपछिको केही समयपछि ती पोस्टहरू पुनः अनआर्काइभ गर्ने उनको योजना छ । साथै, ‘गुन्यो चोलो’ को प्रचार–प्रसारमा केन्द्रित हुन उनले दुई महिना अरू कुनै काम पनि लिएका छैनन् ।

समुन्द्र भट्टको निर्देशनमा बनेको ‘गुन्यो चोलो – कमिङ अफ एज अफ अ गर्ल’ अर्थात ‘गुलाबी’, अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको चलचित्र हो । यसमा नाजिरले ट्रान्सवुमनको भूमिका निभाएका छन् । फिल्मको पटकथा तथा संवाद निर्देशक भट्ट र नाजिरले स्वयं लेखेका हुन् ।चलचित्रमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।नाजिरको यो नयाँ अभियानले दर्शकमाझ चलचित्रप्रतिको उत्सुकता अझ बढाउने विश्वास गरिएको छ ।