काठमाडौँ -यही साउन १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।
साउन सङ्क्रान्तिको अवसर पार्दै बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र रोजगारीको सिलसिलामा भोग्नुपरेका विभिन्न कठिनाइ समेटिएको छ । ट्रेलरका केही दृश्यहरू दिल चस्काउने प्रकारका छन् । ती दृश्यले आतङ्कवादीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिन्छन् भने चलचित्रका अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश पनि देख्न सकिन्छ ।निर्देशक विभोर पोखरेल फिल्म हरेक नेपालीको कथा भएको बत्ताउँछन् । उनले फिल्मले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गरेको सुनाए ।
फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गानाका साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय छ ।प्रदीप भारद्वाजले लेखन गरेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी छ ।भारतको राजस्थान, नेपालका चितवन, काठमाडौँ र लेटाङमा छायाङ्कन गरिएको फिल्म काफिया फिल्म्सले वितरण गर्दैछ ।