ओलीले बोलाएका थिए बालुवाटार, भण्डारीले भनिन्- च्यासलमै भेटौं

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २७१ दिन अगाडि
ओलीले बोलाएका थिए बालुवाटार, भण्डारीले भनिन्- च्यासलमै भेटौं

 काठमाडौं -प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ ।एमाले मुख्यालय च्यासलमा केहीबेरदेखि मात्रै उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केहीबेर ढिलोगरी सुरु भएको हो ।

भण्डारीले गत १४ असारमा एमाले राजनीतिमा पुन: सक्रिय हुने घोषणा गरेयता एमालेभित्र पक्ष र विपक्षमा मतहरू देखिन थालेका छन् ।आगामी भदौमा विधान महाधिवेशनको तयारी गरिरहेको एमालेले पछिल्ला केही दिन लगातार पार्टी बैठक चलाइरहेको छ ।सचिवालय, पोलिटब्युरो लगायतका बैठकमा औपचारिक रुपमा भण्डारीको राजनीतिक संलग्नताको इच्छाबारे छलफल थालिएको छ ।यसैबीच, आइतबार ओली र भण्डारीबीच भेटवार्ता भएको हो । यसलाई पार्टी पंक्तिामा चासोको साथ हेरिएको छ ।स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आइतबार बिहान सम्पर्क गरेर भण्डारीलाई बालुवाटार आउन आग्रह गरेका थिए ।

तर, ओलीको उक्त अनुरोध भण्डारीले अस्वीकार गरेको उनी निकट स्रोतले बतायो । ‘उहाँ (ओली) ले बालुवाटारमै आउनुस् भनेर बोलाउनुभएको थियो,’ उक्त स्रोतले भन्यो, ‘तर, यो बैठक च्यासलमा गरौं, म बालुवाटार आउँदिन भनेर पूर्वराष्ट्रपतिले भन्नुभयो ।’भण्डारीले अनुरोध अस्वीकार गरेपछि ओली च्यासलमै भेट्न तयार भएका हुन् । सोही अनुसार, उनीहरूबीच अहिले भेटवार्ता चलिरहेको छ ।