‘मोहर’‘ र सिटामोल’ दुबैका लागि उत्साहित छु: अभिनेत्री बेनिशा हमाल

  • रञ्जना न्यौपाने
    -रञ्जना न्यौपाने
  • २७० दिन अगाडि
‘मोहर’‘  र सिटामोल’ दुबैका लागि उत्साहित छु: अभिनेत्री बेनिशा हमाल

काठमाडौं– चितवनमा जन्मिएकी अभिनेत्री बेनिशा हमालको मनोरञ्जन यात्रा यात्रा रेडियो जक्कीको रुपमा प्रारम्भ भएर मोडलिङहुँदै फिल्मसम्म आइपुगेको हो । यतिबेला त उनी एउटा नयाँ फिल्म ‘द ब्लू लाइट्स’ मार्फत कार्यकारी निर्मात्रीसमेत बनिसकेकी छिन् । प्रशन्न पौडेलको निर्देशनमा बनेको फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्ने यी अभिनेत्रीले बायो पिक ‘द ब्लाइन्ड रक्स’ ट राष्ट्रिय अवार्डसमेत जित्न सफल भएकी छिन् । यतिबेला बेनिशा आफ्ना दुई नयाँ फिल्म ‘मोहर’ तथा ‘सिटामोल’ साउन २३ गते शुक्रवार अर्थात एकै दिन प्रदर्शनमा आउने भएपछि दौडधूपमा व्यस्त छिन् । यही विषयमा केन्द्रित रहँदै  कुराकानीको सम्पादित अंशः

अहिले दुई फिल्मका लागि दिन–रात व्यस्त हुनु भएको छ, दिक्क लागेको छैन ?

दिक्क होइन मलाई त खुशी पो लागिरहेको छ । एउटा काम गर्ने मान्छे, त्यसमा पनि म एउटा कलाकारलाई सधैँ व्यस्त भइरहुँ जस्तो लाग्छ । अरु पेशामा भएको भए काम गरेर थाक्छन् रे, तर हाम्रो पेशामा चाहिँ काम गर्न नपाउँदा थाक्छन् रे भन्ने भनाइ प्रख्या त । कलाकारहरु खालि बस्नु पर्दा ‘ओहो’ भन्ने हुन्छ, त्यसैले काम गरिरहँदा नै रमाइलो लाग्छ ।

काम रमाइलोकै लागि मात्र हो र ?

त्यसो भन्न खोजेको होइन । कलाकारको काम अत्यन्त अनिश्चितताले भरिएको हुन्छ, अर्थात अरु कर्मचारीहरुको जस्तो ठ्याक्क महिना पुग्यो, तलब आयो जस्तो होइन । किनभने, कलाकारिता भनेको कहिले काम हुन्छ र कहिले पैसा आउँछ भन्ने थाहा नभएको प्रोफेसन हो । प्रोजेक्ट जहिले आउँछ, त्यहिले नै पैसा आउने हो । फाइनान्सियल आक्सपेक्टबाट हेर्दा पनि हामी व्यस्त भैरहेको अथवा हामीले काम गरिरहेको कुरा नै राम्रो पक्ष हो ।

आफ्नो पारिश्रमिकबाट सन्तुष्ट हुनुहुन्छ ?

पारिश्रमिक नै सबै कुरा होइन । म अहिले व्यस्त छु, लगातार फिल्महरु भइरहेका छन् । निर्माताले मलाई विश्वास गरेर अत्यन्त इम्प्याक्ट रोलहरुमा अभिनय गर्ने मौका दिइरहनु भएको छ । यी कुराले मलाई सन्तुष्टि दिएको छ। मेरो लागि पारिश्रमिक भन्दा पनि खुशी र भूमिका ठूलो कुरा रहेको छ ।

अहिले प्रदर्शन हुन लागेका तपाईँका दुई फिल्म ‘सिटामोल’ तथा ‘मोहर’ लिएर कत्तिको उत्साहित हुनुहुन्छ ?
मेरा दुई नयाँ फिल्महरु ‘सिटामोल’ तथा ‘मोहर’ को प्रदर्शन मिति नजिक आइसकेको छ, त्यसैले पनि म अहिले अति नै उत्साहित छु । फिल्म सिटामोल त एक–डेढ वर्ष अगाडि नै सूटिङ भएकोले पनि फिल्ममा मेरो पात्रका कारण पनि उत्साहित छु । त्यस्तै ‘मोहर’ मा पनि मेरो भूमिका अत्यन्त फरक छ, त्यसैले ‘मोहर’ लाई लिएर पनि उत्तिकै उत्साहित छु । फिल्ममा कहिलेकाहिँ कलाकारलाई आफ्नो पात्रको एकदम लोभ लाग्दो रहेछ, मलाई पनि ‘सिटामोल’ तथा ‘ मोहर’ दुबै फिल्ममा मैले निर्वाह गरेको क्यारेक्टर एकदम लोभ लागेको छ । ‘मोहर’ फिल्म हेर्न त पाएको छैन तर ‘सिटामोल’ हेर्ने मौका पाएँ । यो फिल्म हेर्दा दर्शकको मन छुने किसिमको बनेको छ । त्यसैले म दुवै फिल्मबाट उत्तिकै आशावादी छु, संगसंगै उत्तिकै उत्साहित पनि छु ।

‘सिटामोल’ त पहिला नै बनेको फिल्म हो, दर्शकलाई यसको कथा पुरानो लाग्छ कि ?

म ‘सिटामोल’ लाई ‘टाइमलेस फिल्म’ भन्न चाहन्छु । फिल्ममा गाउँको गरीवी, दुःख तथा संघर्षको कथावस्तु रहेको छ । यस्तो कथा कुनै पनि बेला सान्दर्भिक हुन्छ, कहिले पुरानो हुँदैन । माहामारीको समयमा जनताको स्वास्थ्य र आधारभुत सुविधाहरु अत्यन्त महत्वपूर्ण हुन्छ, त्यसैको वरिपरि रहेर यो बनेको फिल्म छ । फिल्मको कथा पुरानो भन्ने कुरामा अहिले पनि नेपालका धेरै त्यस्ता ठाउँ छन्, जहाँ आधारभूत कुराहरुकै अभाव छ । जुन कुरा फिल्ममा यर्थाथ रुपमा देखाउन खोजिएको छ, जसलाई दर्शकले सजिलै रिलेट पनि गर्न सक्नु हुन्छ भन्ने मलाई लाग्छ ।

 

‘सिटामोल’ सँग कसरी जोडिनु भयो ?
‘सिटामोल’ फ्लोरमा जानुभन्दा ३–४ वर्ष अगाडि नै यो फिल्मका लागि साइन गरिएको हो । तीन–चार वर्ष भइसक्दा फिल्म बन्छ कि बन्दैन भन्ने अन्योल हुन्छ । त्यस्ता धेरै फिल्म छन्, जुन साइन भएर पनि अझै बनेका छैनन् । त्यसैगरि कति साइन गरेका फिल्म त बन्दैन होला भनेर बिर्सिसकेको हुन्छ । त्यसरी नै हाम्रो ‘झ्यानाकुटि’ फिल्मको प्रदर्शनको एक–दुई वर्षपछि यो फिल्मका लेखक प्रदिप भारद्वज दाईले हामी दुवै ९सौगात मल्ल र म० जनालाई ‘सिटामोल’ का लागि एक साथ साइन गराउनु भएको थियो । ‘सिटामोल’ मा पनि कपलकै स्टोरी छ, तिमीहरु दुबै एकदम नै राम्रो देखिन्छौ, दुबैको एकदम चुनौतीपूर्ण भूमिका रहेको छ, त्यसैले दुबै जनालाई अभिनय गराउने भनेर निर्देशकले पनि भन्नु भयो । साइन गरेको तीन–चार वर्षपछि मात्र यो फिल्म फ्लोरमा गएको हो । यही साउन २३ गते उनले अभिनय गरेका दुई फिल्म ‘मोहर’ तथा ‘सिटामोल’ एकै दिन प्रदर्शनमा आउँदैछन् । त्यसबाहेक उनी कल्ली, द ब्लू लाइट लगायतका फिल्ममार्फत दर्शकमाझ आउँदैछिन् ।

‘सिटामोल’ मा लिएको पारिश्रमिकको पनि चर्चा भएको थियो नि 

जब ‘सिटामोल’ को सूटिङ भैरहेको थियो, तब यो फिल्मका लागि निर्माताहरुलाई आर्थिक अभाव भएको रहेछ । तर हामीलाई फिल्म अभावमा बनेको छ भन्ने कुराको बारेमा जानकारी नै गराउनु भएन । हामीले पनि गीत रिलिजको कार्यक्रममा मात्र सबै सञ्चार माध्यममा उहाँहरुले विगतका कुरा बताउँदामात्र बल्ल महसुस भएको हो ।

‘सिटामोल’ फिल्मको ‘ओहो यति धेरै पैसा’ भन्ने सम्वाद त निकै भाइरल भएको छ नि ?
हजुर, त्यसमा धेरै जनाले टिकटक बनाइरहनु भएको छ । त्यो देखेर अति नै खुशी लागेको छ । मान्छेलाई त्यो दृष्य हेर्दा एकदम रमाइलो लागेको रहेछ । खासमा यत्रो धेरै पैसा कहिले पनि सकिँदैन होला‘।भन्ने सम्वाद मेरो मात्र थियो, तर ‘खर्च नगरि राख्यो भने त‘’ भन्ने सौगातजीले बोल्नु भएको सम्वाद स्क्रिप्टमा थिएन, तर उहाँले त्यहाँ इन्ट्रोभाइज गरेर उक्त सम्वाद बोल्नु भएको थियो, जुन अति राम्रो भयो । हामीलाई पनि त्यो दृष्यमा अभिनय गरिरहँदा जति मज्जा लागेको थियो, अहिले दर्शकलाई मन परेको उहाँहरुलाई पनि रामाइलो लागेको देखेर मलाई झन् खुशी लागेको छ ।

सौगात मल्लासँग काम गर्दाको अनुभव कस्तो रह्यो त ?

सौगात मल्ल अति नै सरल स्वभावको मान्छे हुनुहुन्छ । उहाँ काममा एकदमै फोकस हुने, उहाँले जसरी काम गर्नु हुन्छ, उहाँको काम मात्र हेर्ने हो भने उहाँको कामले नै उहाँलाई किङ अफ एक्टिङ बनाएको हो जस्तो लाग्छ । एउटा कलाकार भएको हिसावले आफूले यस्तो अप्रिसेट गरेको व्यक्तिसंग केहि सिक्ने लोभ पनि हुन्छ । कहिलेकाहिँ त उहाँले कुनै पात्र अथवा फिल्म छान्नु भएको छ भने पक्कै केहि देखेर नै हो भन्ने भएर स्क्रिप्ट नपढे पनि फिल्मका लागि ढुक्क भएर हुन्छ भन्न मन लाग्छ ।

तपाईँका दुई फिल्महरुको कथावस्तुको सिटामोल र मोहोरको कुरा गर्नु पर्दा ?

गाउँका धेरै मानिसहरुको आवाज हो ‘सिटामोल’, ग्रामिण भेगको मान्छेहरुको जसले अहिले पनि धेरै आधारभूत सुविधाहरुका लागि पनि सघर्ष गर्नु परेको छ । त्यस्तै ‘मोहर’ भने देउकी प्रथा, जुन पश्चिम नेपालमा केहि समय अघिसम्म विधमान थियो, अहिलेको पुस्ता जसलाई देउकी प्रथा भन्ने थाहा छैन । त्यो इतिहासको कुरा भयो, जुन प्रथा भन्दा पनि कुप्रथा थियो । नेपालमा यस्तो प्रथा पनि थियो रे भन्ने कुरा बुझ्न मन लाग्यो भने ‘मोहर’ हेर्न अनुरोध गर्दछु । यसका साथै दुबै फिल्मका गीतहरु डान्सिङ नम्बर तथा स्याड गीतलाई दर्शकले पनि उत्तिकै मन पराइदिनु भएको छ । हामीले जुन–जुन कन्टेन्ट रिलिज गरिरहेका छौँ, त्यो सबै दर्शकको ध्यान खिचोस भन्ने उद्देश्यले गर्ने हो र ध्यान खिचि पनि रहेको छ । अहिले हामीले फिल्मका जति पनि कन्टेन्ट रिलिज गरिरहेका छौँ, दर्शकले मन पराएको देख्दा ‘इन अ वे’ हामी सफल भयौँ जस्तो महसुस भइरहेको छ ।

‘मोहर’ तथा ‘सिटामोल’ मध्ये कुन फिल्ममा आफ्नो भूमिका प्रभावकारी तथा शसक्त लागेको छ ?

मोहर र सिटामोल दुवै फिल्म फरक–फरक जनरामा बनेका छन् । सम्पूर्ण दर्शकको आ–आफ्नै इच्छा हुन्छ । फिल्म भनेको कथावाचन हो, मोहर तथा सिटामोल दुबै फरक व्यक्तिले भनेको कथा हो । सिटामोललाई राजबहादुरजीले भन्नु भएको छ भने मोहरलाई ओम सरले भन्नु भएको । कथावाचनमा दुबै निर्देशकको आ–आफ्नै शैली छ । दुवै जनाको कथा भन्ने शैली फरक हुन्छ । सिटामोल मैले पूरै हेर्ने मौका पाएकी छु, तर मोहरको भने डविङको क्रममा मेरो पार्टमात्र हेरेकी छु । त्यसैले यो पूरै फिल्म कस्तो बनेको छ भनेर म समग्र रुपमा भन्न त सक्दिन, तर म दुबै फिल्मबाट उत्तिकै आशावादी छु । मैले मात्र होइन, प्रायः हरेक कलाकारले फिल्ममा काम गर्दा अथवा फिल्म साइन गर्दा सबै कुरामा चित्त बुझेपछिमात्रै साइन गर्ने हो । यो फिल्ममा केहि होला कि भनेर आशा राखेर नै काम गर्ने हो । त्यसैले एउटै कलाकारले आफूले अभिनय गरेका दुई फिल्म एकसाथ चल्दा एउटा मात्र फिल्मलाई राम्रो भन्दा अर्को फिल्मका निर्मातालाई न्यायपूर्ण हुँदैन ।

अन्त्यमा, तपाईँ कार्यकारी निर्मात्रीको रुपमा पनि परिचित हुनु भएको छ । एउटा निर्माताको हिसाबले भविष्यमा मोहर र सिटामोल जस्तै कथावस्तुमा फिल्म बनाउनु पर्यो भने कुन फिल्मलाई रोज्नु हुन्छ 

मोहर तथा सिटामोलमा मैले काम गरिसकेको छु । दुबै फिल्मको मलाई राम्रोसँग इक्सपिरियन्स छ । यी दुबै फिल्मको कथामा फिल्म पहिला नै बनेको भएर म नयाँ कथालाई प्रयास गर्छु । दर्शकले पनि केहि नयाँ गरोस भन्ने अपेक्षा राख्नु हुन्छ होला, त्यसैले म नयाँ कथावस्तु नै खोज्छु ।