काठमाडौं -अशोक शर्माको निर्देशनमा निर्माण हुने भनिएको चलचित्र ‘डबल ट्रिपल’को भविष्य अनिश्चित बनेको छ । यो सिनेमाका मुख्य कलाकार दयाहाङ राई र खगेन्द्र लामिछानेको कार्यव्यस्तताका कारण छायांकन नै रोकिएपछि पूर्वघोषित प्रदर्शन मिति दोस्रो पटक सरेको छ ।
निर्देशक शर्माले भदौ ५ गतेबाट ‘डबल ट्रिपल’को छायांकन सुरु गर्ने योजना बनाएका थिए, तर मुख्य अभिनेतामध्येका खगेन्द्र लामिछाने अर्को सिनेमा ‘क्याप्टेन साब’को छायांकनमा व्यस्त भएकाले समय दिन सकेनन् । उक्त चलचित्रको काम सकिन अझै करिब ३५ दिन लाग्ने अनुमान गरिएको छ । यसबीच, खगेन्द्र फुर्सदिला हुँदा अर्का मुख्य अभिनेता दयाहाङ राई भने आफ्नै नयाँ प्रोजेक्टहरूमा व्यस्त हुने निश्चित भएको छ । उनी अहिले ‘कबड्डी ५’ को छायांकनमा केन्द्रीत छन् । त्यसपछि उनी ‘मितज्यू’ र ‘पेन्सनपट्टा’ नामक दुई अन्य सिनेमामा अनुबन्धित भइसकेका छन् । यसैले माघ महिनाअघि दयाहाङले ‘डबल ट्रिपल’लाई समय दिन नसक्ने पक्का भएपछि चलचित्रको छायांकन स्थगित निश्चित बनेको छ ।
यसअघि, गत फागुनमा निर्माण घोषणा गरिएको चलचित्र ‘डबल ट्रिपल’लाई दशैंको फूलपातीमा रिलिज गर्ने लक्ष्य राखिएको थियो । तर, सोही मितिमा अन्य तीन सिनेमासँग जुध्ने भएपछि शर्माले प्रदर्शन मिति सारेर फागुन १ गतेलाई तोकेका थिए । अब माघअघि छायांकन नै सुरु नहुने भएपछि फागुन १ मा पनि फिल्म प्रदर्शन असम्भव भएको छ । यो सिनेमामा दयाहाङ र खगेन्द्रका अलावा मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल तथा सुरविर पंडितको अभिनय रहनेछ ।सिनेमाको कथा तथा पटकथा निर्देशक शर्माले राजेश सिटौलासँग मिलेर लेखेका हुन् ।चलचित्र ‘डबल ट्रिपल’मा शम्भुजित बाँस्कोटाको संगीत, शान बस्न्यातको संवाद, आलोक शुक्लाको छायाँकन, राजु किराँतीको एक्सन तथा सुनिल क्षेत्रीको नृत्य निर्देशन रहनेछ । यस सिनेमाको निर्मातामा किरण शर्मा पौड्याल, किर्ति शर्मा तथा अंकित शर्मा रहेका छन् ।