काठमाडाैं - भदौ ६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा लाग्ने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टले चलचित्र सय सोजका साथ रिलिज हुन लागेको जानकारी गराएका हुन् ।
हलमा प्रदर्शन हुने भएसँगै चलचित्रको बुकिङसमेत खुला गरिएको छ । चलचित्रको बुकिङ सुरुवाती चरणमा रहेको र प्राप्त सोजको आधारमा हेर्दा चलचित्रले राम्रो व्यापार गर्ने अनुमान रहेको थ्रिकेजीका गोविन्द भण्डारीले बताएका छन् । दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको हाइप र सम्भावनालाई मध्येनजर गरेर पर्याप्त सोसहित रिलिज गर्न लागेको चलचित्र रिलिज हुन लागेको बताइन् ।
उनका अनुसार अष्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमै रिलिज हुन लागेको हो ।चलचित्रमा माग्ने बुढा अर्थात् केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । मित्र गुरुङको सम्पापन, नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको चलचित्रमा सामीप्य तिमल्सेनाको लेखन रहेको छ ।