जेनजीका नाममा कलाकारको फेक आइडीबाट पैसा माग्न ‘क्युआर कोड’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २०८ दिन अगाडि
जेनजीका नाममा कलाकारको फेक आइडीबाट पैसा माग्न ‘क्युआर कोड’

काठमाडौं -गायिकाद्वय एलिना चौहान र रचना रिमालले आफूहरूको नाममा फेसबुकमा नक्कली आइडी खोलेर पैसा मागेर ठगी गरिएको भन्दै गुनासो गरेका छन् ।

ती आइडीबाट जेनजी आन्दोलनपछि गरिबी लागेको भन्दै पैसा माग्ने गरेको देखिएको छ । एलिना र रचनाले मेसेजको स्क्रिनसट फेसबुकमा सेयर गर्दै पैसा नदिन आग्रह गरेका छन् । त्यस्ता आइडीबाट पैसा मागिएमा तुरुन्त ब्लक र रिपोर्ट गर्न एलिनाको आग्रह छ ।

एलिना लेख्छिन्, ‘ मेरो फेसबुक आइडी दुरुपयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएको छु । सबैलाई अनुरोध छ- सावधान रहनुहोस्, त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् । कुनै आइडी वा नाम प्रयोग गरेर सम्पर्क आएमा तुरुन्त ब्लक/रिपोर्ट गर्नुहोस् ।’ एलिनालाई आएको मेसेजमा लेखिएको छ, ‘जेनजी आन्दोलनपछि आर्थिक कमीकमजोरीका कारण भोकमरी र बास कपासको कमी भएकाले केही आर्थिक सहयोग गर्न मिल्छ कि भन्ने आशा लिएर आइडी खोलेको हो ।’

यस्तै मेसेज गायिका रिमाललाई पनि आएको छ । त्यहाँ आएको क्यूआर कोड स्क्यान गर्दा एकजना बुढाथोकी थरका प्रयोगकर्ताको नाम आउँछ । रचनाले पनि ठगीधन्दाको लागि आफ्नो नाम प्रयोग गरिएको भन्दै उक्त आइडी तुरुन्त बन्द गर्न आग्रह गरेकी छन् ।

उनी लेख्छिन्, ‘ मेरो तस्वीर प्रयोग गरि, फेसबुक अकाउन्ट खोलेर यसरी ठगी गर्न खोजिएको थाहा पाएकी छु । कृपया यस्तो स्क्याममा नपर्नुहोला । सजग रहनुहोला, मैले पैसा मागेको छैन । कसैले ठगि धन्दाको लागि मेरो नाम र फोटो प्रयोग गरिएको छ । जसले यस्तो हरकत गर्दै हुनुहुन्छ तुरुन्त बन्द गर्नुहोला ।’