मुलुकलाई निकास दिन दलहरूले बढी भूमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ४५ दिन अगाडि
मुलुकलाई निकास दिन दलहरूले बढी भूमिका निर्वाह गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

 काठमाठाैँ -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरूले बढी भूमिका खेल्नुपर्ने बताएकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा यस्तो अवस्थामा सधैँ रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्ने पनि बताइन्।उनले मुलुकलाई निकास दिन राजनीतिक दलहरूलाई सुझाव दिन पनि समाजका सबै तहलाई आग्रह गरिन्।

उनले भनिन्, ‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। यसको हामीले समाधान निकाल्नु पर्छ। र हाम्रो शक्तिका स्रोत भनेको जनताहरू हुन्। मेरो राजनीतिक दलहरूलाई के सुझाव छ भने–उहाँहरूले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार अनुसार कार्यक्रम गर्नु भएको छ कि छैन? के सुझाव दिन्छन् जनसमुदायले। त्यसका लागि जनताको बीचमा जानुपर्छ जस्तो लाग्छ मलाई। र, पार्टीहरूको बीचमा पनि समन्वय र सहकार्य गर्नु आवश्यक छ भन्ने मलाई लागेको छ। पार्टीहरू र विभिन्न सबै आस्थाका धरोहरको बीचमा छलफल, समन्वय भएर नै हामीले यो समस्यालाई समाधान दिन सक्छौं। र, हामी जस्तो खालको बसाइँमा छौं।’

उनले अगाडि भनिन्, ‘हाम्रो बसाइँ, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि पीर पर्न सक्छ। त्यहाँ पनि समस्याहरू आउन सक्छ। त्यसैले हामीले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ। र, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ। हामी सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेलौं।’ 

राजनीतिक दलहरूले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाइ गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष थियो। उनले भनिन्, ‘मैले पनि एउटा वरिष्ठ नागरिकको हैसियतले, सबैले चिनेको नागरिकको हैसियतले मैले गर्ने कुरा गर्छु। र दलहरूले बढी भूमिका खेल्नुपर्ने म ठान्छु। र, दलहरूलाई सबैले सुझाव पनि दिनुपर्छ। तर अब दलका नेताहरूले पनि बाहिर चाहिँ धेरै बोल्ने, आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने यो तरिकाको चाहिँ मेरो आज सार्वजनिक रूपमा नै आलोचना छ। त्यसैले तपाईंहरूले सबैको कुरा सुन्नुपर्छ। र त्यो कुराहरूको आधारमा हामीले हाम्रो पार्टीको मर्म र भावना अनुसार काम गर्न सकेको छ कि छैन? यो कुरा बुझ्नुपर्छ।’ 

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरूले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समेत बताइन्।  उनले भनिन्, ‘नयाँ पुस्ता कसरी आइराखेका छन्? नयाँ पुस्ताको मनोभावना के छ? उनीहरूको माग के छन्? त्यसलाई राज्यले कसरी सम्बोधन गर्न सक्छ? त्यस कुरामा हामी जानुपर्छ भन्ने मलाई लाग्छ।’