‘माइतीघर’को सफलतापछि निर्देशक मिलनले घोषणा गरे ‘कहाँ भेटिएला’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३७८ दिन अगाडि
‘माइतीघर’को सफलतापछि निर्देशक मिलनले घोषणा गरे ‘कहाँ भेटिएला’

काठमाडौं - स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित चलचित्र ‘कहाँ भेटिएला’को नामबाट फेरि सिनेमा निर्माण हुने भएको छ ।

२००८ मा रिलिज भएको स्वर्गीय निर्देशक शिव रेग्मीको निर्देशनमा बनेको यस चलचित्र ‘कहाँ भेटिएला’बाट अभिनेत्री श्वेता खड्काले फिल्मी यात्रा सुरु गरेकी थिइन् । हाल प्रदर्शनरत चलचित्र ‘माइतीघर’का निर्देशक मिलन तामाङले ‘कहाँ भेटिएला’लाई बनाउने घोषणा गरेका हुन् ।शक्ति नमोबुद्ध फिल्मस् प्रालीको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रलाई निर्देशक तामाङले मंगलबार आफ्नो दोस्रो निर्देशकिय सिनेमाको रुपमा घोषणा गरेको बताएका छन् । निर्माण टिमका अनुसार चलचित्रको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ ।

प्रदर्शन मिति तय नगरिएको यस सिनेमाका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाई छ ।‘कहाँ भेटिएला’मा को-को कलाकार र प्राविधिक रहन्छन् भन्ने बारेमा पनि निर्देशक तामाङले बताएका छैनन् । उनले केहि दिनपछि चलचित्रको सम्पुर्ण जानकारी दिने बताइएको छ ।

गत असारमा चलचित्र विकास बोर्डबाट निर्माणका लागि इजाजत लिइसकेको यो चलचित्रमा केदार प्रसाद घिमिरे (माग्ने बुढा), धिरज मगर, बुद्धि तामाङ, स्यामा श्री शेर्पालगायत कलाकार रहने उल्लेख गरिएको छ ।निर्देशक तामाङले ‘माइतीघर’बाट पहिलोपटक निर्देशन यात्रा सुरु गरेका हुन् । दशैंको फुलपातिमा प्रदर्शन यस चलचित्रले दर्शकको प्रशंसा पाइरहेको छ । चलचित्र पुनर्निर्माणबारे कुरा गर्दै निर्देशक तामाङले भने, “दर्शकले ‘माइतीघर’लाई दिएको माया र साथले मलाई नयाँ जोश दिएको छ । ‘कहाँ भेटिएला’लाई अझ नेक्स्ट लेभलमा बनाएर दर्शकलाई फरक अनुभूति दिनेछु ।”