उत्साहजनक शो संख्या सहित ‘परान’ को अग्रिम बुकिङ खुल्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११ दिन अगाडि
उत्साहजनक शो संख्या सहित ‘परान’ को अग्रिम बुकिङ खुल्यो

काठमाडौं -चलचित्र ‘परान’को बुकिङ खुला भएको छ । कात्तिक १४ गते अर्थात् भोलिबाट रिलिज हुने यो चलचित्रको अधिकांश मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बिक्री खुलाएका हुन् ।

दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको चलचित्र ‘परान’ले मल्टिप्लेक्ससहितका हलमा राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट सिनेमाहरूको भीडमा पनि यो सिनेमाले सन्तोषजनक शो पाएको छ । देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स, दोस्रो ठूलो आईएनआई सिनेमाज र अन्य मल्टिप्लेक्स हल वान सिनेमाज, बिग मुभिजलगायतका हलहरूले अग्रिम बुकिङ खुलाइसकेका छन् । क्युएफएक्सले काठमाडौंभित्र पहिलो दिनका लागि ‘परान’लाई १५ शो उपलब्ध गराएको छ ।

आईएनआई अन्तर्गतका हलहरूमा ‘परान’ ले ६ शो पाएको छ भने वान सिनेमाजमा ५ शो, बिग मुभिज र एफक्युब सिनेमाजमा २/२ शो पाएको छ । चलचित्रले देशभर हालसम्म ६४ भन्दा बढी शो पाएको छ। आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना छ । भावनात्मक पारिवारिक कथानक बोकेको यो चलचित्र नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने देखिन्छ ।

बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, तथा बाल कलाकार आर्यदीप आचार्यको अभिनय रहेको छ ।रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको गीतहरू, शिवराम श्रेष्ठको छायांकन तथा मित्र डी। गुरूङको सम्पादन रहेको फिल्म ‘परान’लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो । यो कम्पनी देशकै प्रतिष्ठित व्यवसायिक समूह गोल्छा ग्रुप र प्रिज्मा ग्रुपको संयुक्त लगानीमा स्थापना भएको हो, जसले गर्दा फिल्मप्रति दर्शकको अपेक्षा झनै उच्च रहेको छ ।