एक महिनामा नेपाली फिल्मको बिक्यो ९ लाखभन्दा बढी टिकट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ३३ दिन अगाडि
एक महिनामा नेपाली फिल्मको बिक्यो ९ लाखभन्दा बढी टिकट

काठमाडाैँ -पछिल्लो एक महिनामा नेपाली फिल्मको ९ लाखभन्दा बढी टिकट बिक्री भएको छ। दसैं र तिहारको अवसरमा प्रदर्शनमा आएका नेपाली फिल्महरूको कुल ९ लाख २१ हजार बढी टिकट बिक्री भएको चलचित्र विकास बोर्डले जनाएको छ। बोर्डले दिएको विवरण अनुसार घरेलु बक्स अफिसमा कात्तिक १५ गतेसम्म ७ फिल्मको उक्त संख्यामा टिकट बिक्री भएको हो।

यस वर्ष दसैंको अवसरमा फूलपातीको दिन (असोज १३ गते) 'बलिदान', 'हरिबहादुरको जुत्ता' र 'माइतीघर' रिलिज भएका थिए । तिहारको अवसर पारेर असोज ३१ गते 'जेरी अन टप' प्रदर्शनमा आयो। यस्तै,भाइटीकाको दिन 'बरिष्ठ बलराम' र 'सोल्टिनी' रिलिज भए भने त्यसको भोलिपल्ट कात्तिक ७ गते 'मैझारो' प्रदर्शनमा आएको थियो।यीमध्ये अनमोल केसी अभिनीत 'जेरी अन टप' ले सर्वाधिक व्यापार गरेको छ। यस फिल्मको ३ लाख ३३ हजार ६ सय ५ वटा टिकट बिक्री हुँदा १० करोड ५१ लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ भएको छ।

दोस्रोमा समीर भट्ट अभिनीत 'बलिदान' छ। यस फिल्मको १ लाख ७१ हजार टिकट बिक्री हुँदा ५ करोड १० लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ भएको छ।हरिवंश आचार्य अभिनीत 'हरिबहादुरको जुत्ता' को १ लाख ४९ हजार २ सय ३७ वटा टिकट बिक्री भएका छन्। फिल्मले ४ करोड ७१ लाख रूपैयाँभन्दा बढी कमाएको छ।त्यस्तै, धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत 'माइतीघर' को १ लाख ४३ हजार ७ सय १२ वटा टिकट बिक्री भएको छ। यो फिल्मले ४ करोड १५ लाख रूपैयाँभन्दा बढी कमाएको छ।

भाइटीकामा रिलिज भएको दयाहाङ राई र विजय बराल अभिनीत 'बरिष्ठ बलराम' को ८२ हजार १ सय १७ वटा टिकट बिक्री हुँदा २ करोड ४८ लाख रूपैयाँ ग्रस कमाइ भएको छ। सोही दिन रिलिज भएको प्रकाश सपुत र परीक्षा लिम्बु अभिनीत 'सोल्टिनी' को ८ हजार ८ सय ४ वटा टिकट बिक्री भएको छ। यो फिल्मले २८ लाख ८० हजार रूपैयाँ कमाएको छ। विल्सनविक्रम राईको फिल्म 'मैझारो' को ३३ हजार ९ सय ४२ वटा टिकट बिक्री भएको छ। यो फिल्मले १ करोड रुपैयाँभन्दा माथि ग्रस कमाइ गरेको छ। यी ७ फिल्मले गत शनिबारसम्म कुल २८ करोड २६ लाख रूपैयाँभन्दा बढीको व्यापार गरेका छन्।