काठमाडाै -इलाममा एकजना पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।
माईजोगमाई– २ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पीताम्बरकी जेठी श्रीमती भएको बताइएको छ । गएराति करिब १०:३० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको उनले बताए । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए ।
झुन्डिएको अवस्थामा फेला
पीताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रूखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।