चितवन - परियार सेवा समाजको केन्द्रीय अध्यक्षमा नारायण परिश्रमी निर्वाचित भएका छन् । परियार सेवा समाजको चितवनमा सम्पन्न भएको पाचौं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नारायण परिश्रमी परियार सर्वसम्मत चयन भएका हुन् । समाजको सह–अध्यक्षमा प्रेम देवी परियार तथा उपाध्यक्षहरूमा ओझ कुमार शिवा, वेल बहादुर परियार, फत्तेमान परियार, जुम बहादुर परियार, हरि नेपाली, अमर बहादुर परियार र रुपा आउजी निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा बुद्धिमान परियार, उपमहासचिव सरोज गौतम र समुन्द्र परियार, सचिवहरू नैनसिंह थहारी, मान बहादुर परियार, शुभ माया परियार, भोज बहादुर नेपाली र कोषाध्यक्षमा खड्क बहादुर बर्देवा गरि ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
उक्त पाँचौँ राष्ट्रिय सम्मेलनको शनिवार बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले उद्घाटन गरेका थिए । राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रम अघि चितवनको भरतपुरमा बाजागाजा सहित बजार परिक्रमा गरिएको थियो ।
परियार सेवा समाजका अध्यक्ष डिबि परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा संविधान सभा सदस्य टेकु नेपाली र दुर्गा परियारले २०५२ सालमा स्थापना भएको परियार सेवा समाज अहिलेको दुई धार बन्न पुगेकोमा दुख व्यक्त गर्दै मिलेर एकताको सन्देश दिन अपिल गरे ।
उक्त कार्यक्रममा नेकपा एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कमल पाठक, नेपाली काँग्रेस जिल्ला उपसभापति राजीव न्यौपाने, डा. मित्र परियार, चितवन जिल्ला अध्यक्ष बाबुराम छिनाल निवर्तमान केन्द्रीय सचिव लाल बहादुर परियार, सामाजिक अभियन्ता रिता परियारले पनि मन्तव्य राखेका थिए । सो कार्यक्रममा कलाकारहरू सुनिता परियार, विक्रम परियार र शिवराज गौतमले साङ्गीतिक प्रस्तुति राखेका थिए भने उनीहरूलाई सोही कार्यक्रमका प्रमुख अतिथि द्वारा सम्मान गरिएको थियो ।