एजेन्सी- चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएका सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।
सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक सम्पन्न भएको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् । सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन । जसको अर्थ लीले आफ्नो पार्टी भूमिकाबाट विदा लिने छन् ।
यस्तै सी जिनपिङको नयाँ कोर टीम आइतबार सार्वजनिक भएको छ ।
पार्टीको केन्द्रीय समितिबाट चयन हुने सात जनाको उक्त पोलिटब्यूरो स्थायी समितिमा नयाँ चार नेता थपिएका छन् ।चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको नयाँ पोलिटब्यूरो स्थायी समितिमा महासचिव सी जिनपिङ (६९), ली चियाङ (६३), चाओ लेची (६५), वाङ हुनिङ (६७), काइ ची (६६), तिङ सुइसियाङ (६०) र ली सी (६६) छन् ।