युक्रेन युध्दः २४ वर्षपछि प्योङयाङमा पुटिन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८० दिन अगाडि
युक्रेन युध्दः २४ वर्षपछि प्योङयाङमा पुटिन

काठमाडौं । उत्तर कोरियाले युक्रेन र रसियाबिच जारी युद्धमा रसियाको पक्षमा आफ्नो पूर्ण समर्थन रहेको घोषणा गरेको छ । 

आज प्योङयाङमा भएको दुई देशका शीर्ष नेताहरूको शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस्तो वचन दिएका हुन् ।   किमले विश्व रणनीतिक सन्तुलनमा रुसको भूमिकाको प्रशंसा गर्दै र रुससँग ‘रणनीतिक सहयोग सुदृढ गर्ने’ वाचा गर्दै दुई देशबिचको सम्बन्ध ‘समृद्धिको नयाँ चरणमा प्रवेश गरिरहेको’ बताएको रुसी समाचार एजेन्सी तासलाई उदृत गर्दै सियोलस्थित कोरिया टाईम्सले जनाएको छ ।

‘प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको सरकार सार्वभौमसत्ता, सुरक्षा हित र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले युक्रेनमा विशेष सैन्य अभियान सञ्चालन गर्न रुसी सरकार, सेना र जनतासँग पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्दछ,’ किमले भनेका छन् ।पुटिनले युक्रेनमा मस्कोको नीतिलाई प्योङयाङको समर्थनका लागि किमप्रति कृतज्ञता व्यक्त गर्दै दुई पक्षले ‘व्यापक रणनीतिक साझेदारी सन्धि’ मा हस्ताक्षर गर्ने अपेक्षाको बिचमा दुई देशबिचको सम्बन्धको आधारको रूपमा काम गर्न नयाँ ‘आधारभूत दस्ताबेज’ तयार गरिएको बताए ।

पुटिनले किमसँग अर्को शिखर वार्ता मस्कोमा गर्ने आशा पनि व्यक्त गरेका छन् ।गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वमा शिखर वार्ता भएको नौ महिनापछि दुई नेताले फेरि भेट गरेका हुन् । किनभने युक्रेनसँगको युद्धमा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू अन्तर्गत रुसले उत्तर कोरियासँग सैन्य र अन्य सहयोगलाई बढुवा दिइरहेको छ ।

पुटिन २४ वर्षपछि पहिलो पटक उत्तर कोरियाको भ्रमणका क्रममा बुधबार बिहान उत्तर कोरिया पुगेका हुन् । शिखर सम्मेलन अघि, मध्य प्योङयाङको किम इल सुङ स्क्वायरमा औपचारिक स्वागत समारोहको आयोजना गरिएको थियो ।शिखर सम्मेलनमा, दुई नेताहरूले आफ्नो द्विपक्षीय सम्बन्धलाई नयाँ स्तरमा वृद्धि गर्ने तरिकाहरूबारे व्यापक रूपमा छलफल गर्ने अपेक्षा गरिएको छ ।  विज्ञहरूले पुटिनको भ्रमणले संयुक्त राज्य अमेरिका विरुद्धको ऐक्यबद्धतालाई बलियो बनाउँदै दुई देशबिच हतियारको लेनदेनभन्दा बाहिरको सैन्य सहयोगलाई अझ गहिरो बनाउन मार्ग प्रशस्त गर्ने बताएका छन् ।

उत्तर कोरिया र पूर्व सोभियत संघले सन् १९६१ मा मित्रता र पारस्परिक सहयोगको सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिमा तथाकथित स्वचालित सैन्य हस्तक्षेपको प्रावधान समावेश थियो, जस अन्तर्गत एक पक्षले सशस्त्र आक्रमणमा परेमा अर्कोले सैन्य र अन्य सहायता प्रदान गर्दछ ।