पृष्ठभूमि
छापाखाना (प्रिन्टिङ प्रेस)को आविष्कारले मानिसको ज्ञानलाई फराकिलो बनाउनुका साथै छिटो फैलाउन मद्दत ग¥यो । अमेरिकी लेखक तथा अनुसन्धाता डेभ रोसका अनुसार जर्मनीका नागरिक जोहानेस गुटेनवर्गले सन् १४३६ मा प्रिन्टिङ प्रेस आविष्कार गरे, जुन यान्त्रिक रुपमा गतिशील थियो ।
प्रिन्टिङ प्रेसको विकाससँगै युरोप, अमेरिका, भारतलगायत विश्वका विभिन्न मुलुकमा विज्ञान–प्रविधिमा कलम चलाउने पत्रकारको सक्रियता बढ्यो । त्यसबेला सुरुआती चरणमा विज्ञान पत्रकारहरुले मौसम तथा प्राकृतिक इतिहास सम्बन्धी विषयवस्तुमा केन्द्रित भएर समाचार तथा रिपोर्टहरु तयार पार्दथे । केही समयपछि उनीहरुले भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, खगोलशास्त्र, गणितजस्ता विषयहरुमा पनि समाचार तथा लेखहरु लेख्न थालेको पाइन्छ ।
भारतका विज्ञान सञ्चारक (साइन्स कम्युनिकेटर) मनोजकुमार पटाइरियाको ‘इन्टरनेसनल जर्नल अफ डेलिबेरेटीभ मेकानिज्म इन साइन्स–२०१६’ मा प्रकाशित ‘साइन्स कम्युनिकेशन इन इन्डिया ः एन एसेस्मेन्ट’ जर्नल लेखका अनुसार सन् १८१८ मा भारतको, श्रीरामपुर, बंगालबाट प्रकाशित ‘दिग्दर्शन’ मासिक पत्रिकामा विज्ञान, प्रविधि, वनस्पतिलगायत विभिन्न वैज्ञानिक अनुसन्धानबारे लेखहरु छापिन्थे, जुन विश्वकै पहिलो विज्ञान–पत्रिका हो । यो पत्रिका हिन्दी, बंगाली र अंग्रेजी गरी तीनवटा भाषामा छापिने गर्दथ्यो । अंग्रेजी र बंगाली दुवै भाषामा दख्खल राख्ने बेलायती पत्रकार तथा इतिहासविद् जोन क्लार्क मार्सम्यान यसका सम्पादक थिए ।
सन् १८४५ मा संयुक्त राज्य अमेरिकामा ‘साइन्टिफिक अमेरिकन’ नामक पत्रिका प्रकाशित भयो, जुन सुरुमा चार पृष्ठको साप्ताहिक समाचारपत्र थियो । अहिलेसम्म पनि यो पत्रिका प्रिन्ट र अनलाइन दुवै संस्करणमा प्रकाशित हुन्छ । अल्बर्ट आइन्सटाइन, निकोला टेस्लालगायत धेरै चर्चित वैज्ञानिकहरुले यो पत्रिकामा लेखहरु लेख्ने गर्दथे । यो संयुक्त राज्य अमेरिकाबाट निरन्तर प्रकाशित हुँदै आएको सबैभन्दा पुरानो पत्रिका हो ।
विश्वमा विज्ञान–प्रविधि पत्रकारिता सुरु भएको साढे तीन दशक बितिसक्दा पनि ‘विज्ञान संवाददाता’ राख्ने गरिएको देखिँदैन । त्यतिखेर एउटै संवाददाताले विज्ञानका अतिरिक्त अन्य विषयवस्तुमा पनि रिपोर्टिङ गरेर समाचार तथा लेखहरु लेख्नु पर्दथ्यो ।
युनिभर्सिटी अफ क्यालिफोर्नियाकी अवकाशप्राप्त विज्ञान इतिहासविद् बारबरा जे. बेकरले जनाएअनुसार सन् १८७१ मा बेलायतबाट प्रकाशित हुने ‘द टाइम्स’ दैनिक समाचारपत्रमा विलियम क्रुक्सको ‘ए गेल इन द बे अफ बिस्के’ शीर्षकको विज्ञान सम्बन्धी लेख छापिएको थियो, जसमा ‘विज्ञान संवाददाता’ भनी बाइलाइनमा उल्लेख गरिएको थियो । त्यसपछि ‘द टाइम्स’ समाचारपत्रमा पिटर चाल्मर्स मिचेलले सन् १९१८ देखि सन् १९४५ सम्म ‘विज्ञान संवाददाता’ भएर काम गरेका थिए । सन् १९२८ मा ‘द म्यान्चेस्टर गार्डियन’ (सन् १९५९ यस दैनिक समाचारपत्रको नाम परिवर्तन भयो र अहिले यसलाई ‘द गार्डियन’ भनी चिन्ने गरिन्छ ) ले लन्डनका जेम्स क्राउथरलाई विधिवत रुपमा ‘विज्ञान संवाददाता’ भनी नियुक्तिपत्र दिएको थियो।
विज्ञान–प्रविधिप्रति अगाध रुचि भएका क्रउथरले ‘विज्ञान संवाददाता’ नियुक्त भएपछि खुसी प्रकट गर्दै भनेका थिए–‘विज्ञान पत्रकारिताजस्तो अन्य केही चीज छैन । म यस क्षेत्रमा केही नवीन योगदान दिन चाहन्छु ।’ सन् १९८३ मा मृत्यु भएका क्राउथरलाई विज्ञान पत्रकारिताका संस्थापकहरुमध्ये एक मानिन्छ ।
त्यसैगरी, अमेरिकी पत्रकार इम्मा रेह स्टिभेन्सनले मेक्सिकोलगायत विभिन्न क्षेत्रमा पुगेर पुरातात्विक महत्वका ठाउँहरुको बारेमा साइन्स सर्भिसको लागि रिपोर्टिङ गरेकी थिइन् । केही समयपछि साइन्स सर्भिसलाई सोसाइटी फर साइन्स एन्ड द पब्लिक नामकरण गरियो । अहिले उक्त संस्था ‘साइन्स फर सोसाइटी’ नामक गैरनाफामूलक संस्थाका रुपमा चिनिन्छ । यो संस्थाले‘साइन्स न्युज’म्यागेजिन प्रकाशन गर्नुका साथै अनलाइन संस्करणमा विज्ञान समाचार उपलब्ध गराउँछ ।
सन् २००० पछि विश्वभर विज्ञान–प्रविधि पत्रकारिता उर्वर रुपमा फस्टाउँदै गएको छ । विज्ञान–प्रविधि र नवप्रवर्तनको विकासबिना मुलुकको विकास नहुने र त्यस्ता विषयवस्तुलाई जनमानसमा विज्ञान पत्रकारको महत्वपूर्ण हुने भएकाले पछिल्लो समयमा अमेरिका र युरोप मात्र होइन, एसिया र अफ्रिकाका मुलुकहरुमा पनि विज्ञान पत्रकारिताप्रति चासो बढेको छ ।
सन् १९०१ मा नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्र प्रकाशन भएसँगै विभिन्न विधामा समाचार,फिचर र लेख छापिन थालेको देखिन्छ । सूचना र प्रविधिको विकाससँगै समग्र पत्रकारितामा नयाँ सिद्धान्त र अभ्यास सुरु भएको पाइन्छ । सुरुसुरुमा पत्रकारले कुनै एउटा छुट्टै विधामा केन्द्रित भएर रिपोर्टिङ गर्ने चलन थिएन । एउटै रिपोर्टरले आफूले थाहा पाएका र जानेबुझेसम्मका विषयमा हात हाल्नुपर्ने स्थिति विद्यमान थियो।
नेपाली पत्रकारिताको सय वर्षभन्दा बढीको अभ्यासमा पत्रकारले राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, कला, साहित्यलगायत विभिन्न विधामा कलम चलाएको भेटिन्छ । पछिल्लो समयमा भने पत्रकारले आफूलाई कुनै एउटा विधामा विशिष्टीकृत गर्दै गएका छन् ।
नेपालमा विज्ञान–प्रविधि पत्रकारिता
नेपालमा विज्ञान–प्रविधि पत्रकारिताको इतिहास त्यति लामो छैन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ डा. दिनेशराज भुजुको वि.सं २०५६ साल साउन १३ गते कान्तिपुर दैनिकमा ‘विज्ञान सञ्चारमा नेपाली अनुभव’ शीर्षकको लेख प्रकाशित भएको थियो । उक्त लेखमा नेपालमा विज्ञान पत्रकारिता थालनीको सन्दर्भ झिक्दा सन् १९३५ मा सूर्यभक्त जोशीको सम्पादकत्वमा प्रकाशन सुरु भएको ‘उद्योग’ पत्रिकाले विज्ञान–प्रविधि सम्बन्धी सामग्रीलाई महत्व दिएको उल्लेख गरिएको छ ।
सन् १९३५ मै ‘उद्योग’ पत्रिकामा विज्ञान–प्रविधिसम्बन्धी लेख–रचनाको सँगालो प्रकाशन भएको देखिन्छ । यसमा विभिन्न लेखकहरुका विज्ञान र प्रविधिमा आधारित लेखहरु छापिएका थिए । तर, यो पत्रिका नियमितभन्दा पनि बेलाबखतमा सँगालोका रुपमा छापिने गथ्र्यो,’ उक्त लेखमा भनिएको छ । वि. सं २००७ सालमा निरंकुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएपछि विभिन्न पत्रपत्रिकाहरुको प्रकाशन सुरु भयो ।
२००७ साल फागुन ८ गते सिद्धिचरण श्रेष्ठको सम्पादकत्वमा ‘आवाज’ दैनिक पत्रिकाको प्रकाशन सुरु भयो । त्यसैगरी, २०११ सालमा ‘समाज’ दैनिक पत्रिकाको प्रकाशन सुरु भयो । त्यसपछि प्रकाशन भएका अन्य दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक, मासिक आदि पत्रिकामा यदाकदा थोरै संख्यामा भए पनि विज्ञान सम्बन्धी लेखहरु प्रकाशन भएको पाइन्छ ।
सन् १९५४ मा बेलायतबाट प्रकाशित हुने डेलीमेलका पत्रकारहरु र पर्वतारोहीको टोलीले यती हिममानवको खोजी गर्ने क्रममा सगरमाथा तथा हिमालय क्षेत्रको यात्रा गरेका थिए, जसको नाम ‘डेलीमेल हिमालयन एक्सपिडिसन–१९५४’ राखिएको थियो । उक्त टोलीले १० लाख पाउन्ड खर्च गरेर महिनौंसम्म हिमालय क्षेत्रको यात्रा गरे पनि यती फेला पर्न सकेन । त्यसपछि डेलीमेलका पत्रकारहरुले हिमाली क्षेत्रमा पाइने विभिन्न खालका नयाँ जीवहरु सम्बन्धी रिपोर्ट तयार पारे । सम्भवतः यो नै विदेशी मिडियामा छापिएको नेपालको पहिलो विज्ञान समाचार हुनसक्ने डेलीमेलको दाबी छ । लेखक तथा पर्वतारोही ग्राहम होयल्यान्डको ’यती–एन एबोमिनेबल हिस्ट्री‘ नामक किताबमा डेलीमेलका पत्रकारहरु र पर्वतारोहीले हिमाली क्षेत्रमा गरेको यती खोज अभियानबारे उल्लेख गरिएको छ ।
नेपाली पत्रकारिताको इतिहासमा विज्ञान–प्रविधिमा केन्द्रित भएको पत्रिका प्रकाशन हुन निक्कै समय लाग्यो । राजधानी काठमाडौं बाहिरबाट प्रकाशित भएको ‘विज्ञान प्रविधि’ द्वैमासिक पत्रिकालाई अहिलेसम्म नेपालको पहिलो विज्ञान पत्रिका मानिन्छ, जसको प्रबन्ध सम्पादक हेमबहादुर बिष्ट थिए । बिष्टका अनुसार यो पत्रिका २०४२ सालमा जनकपुरबाट प्रकाशन भएको थियो र तीन वर्षसम्म चलेपछि आर्थिक अभावले गर्दा बन्द भयो । ‘विज्ञान–प्रविधि’ पत्रिका प्रकाशन गर्नुभन्दा पहिले बिष्टले राष्ट्रिय समाचार समितिमा २०३४ सालमा केही महिना विज्ञान–प्रविधि संवाददाताका रुपमा काम गरिसकेका थिए । त्यसपछि उनले पाँच वर्षजति गोरखापत्र दैनिकमा पनि संवाददाताका रुपमा काम गरेका थिए ।
विज्ञान–प्रविधि सम्बन्धी रिपोर्टिङ तथा ‘विज्ञान–प्रविधि’ पत्रिका प्रकाशन गर्दाको समयलाई बिष्ट यसरी स्मरण गर्छन्–
‘म २०३१ सालमा एसएलसी पास गरेपछि फिजिक्स समूहमा आइएससी (इन्टरमिडियट अफ साइन्स) मा भर्ना भएँ । तर, आइएससी चौथो सेमेस्टरको परीक्षा नदिइकन म मेडिसिन (हेल्थ असिस्टेन्ट) पढ्न काठमाडौं आएँ । पछि मेडिसिन पनि छाडेर रत्न राज्य क्याम्पसमा पत्रकारिता पढ्न थाले र पढ्दापढ्दै २०३४ सालमा राष्ट्रिय समाचार समिति (रासस)मा विज्ञान संवाददाताको रुपमा रिपोर्टिङ सुरु गरेँ । त्यहाँ कसैले पनि विज्ञान–प्रविधि रिपोर्टिङ गर्दैनथ्यो ।
त्यसबेलाका राससका चिफ रिपोर्टर भैरव रिसालले खुसीसाथ विज्ञान–प्रविधि बिटमा रिपोर्टिङ गर्नुहोस् भनेपछि मैले काम सुरु गरेको थिएँ । तर, मैले राससमा ६ महिनाजति मात्र रिपोर्टर भएर काम गरेँ । त्यसबेला स्वास्थ्य, भौतिकशास्त्र, खगोल, जीवविज्ञान, भूगर्भविज्ञान आदि विषयमा वैज्ञानिक अनुसन्धानमा आधारित धेरै रिपोर्टिङ गरेँ मैले ।
एसएलसीपछि विज्ञानको पढाइले पनि मलाई ‘विज्ञान–प्रविधि’ पत्रिका सुरु गर्ने हुटहुटी जाग्यो । गोरखापत्रमा पत्रकारका रुपमा चार वर्ष काम गरेर छाडेपछि म दुई–तीन वर्ष खाली रहेको थिएँ । मैले गोरखापत्रमा २०३४ सालमा काम सुरु गर्दा भारतदत्त कोइराला सम्पादक थिए । उनले ‘ल गोरखापत्रलाई तपाईंजस्तो मान्छे चाहिएको’ भन्दै तुरुन्तै संवाददाताको नियुक्ति दिएका थिए ।
रासस र गोरखापत्र दैनिकमा विज्ञान पत्रकारिता गरेको अनुभव, आइएससी पढाइ र वैज्ञानिक चेतनाको कारणले गर्दा मैले ‘विज्ञान–प्रविध्र्रि’ पत्रिका प्रकाशन गर्ने सोच बनाएँ । नेपाली समाजमा रहेको कुरीति र अन्धविश्वासलाई चिरेर नेपाली समाजमा तार्किक र वैज्ञानिक चेतना जगाउन विज्ञान पत्रकारिताभन्दा उपयुक्त अर्को माध्यम हुन सक्दैन भन्ने लागेर मैले जनकपुरबाट पत्रिका सुरु गरेँ । जनकपुरमा मेरो घर थियो, मैले पढेको पनि त्यहीँ । खासगरी, त्यहाँ कलेजका विज्ञान प्राध्यापकहरुलाई सम्पादक मण्डलमा राखेर पत्रिका निकाल्न थाल्यौं । म चाहिँ प्रबन्ध सम्पादक भएर बसेँ । भौतिकशास्त्रका रामस्वार्थ राय, रसायनशास्त्र दिनेशचन्द्र यादव, वनस्पतिशास्त्रका गोविन्द केसी, भौतिकशास्त्रकै वसन्त गौतम, शैलेन्द्र पोखरेल आदि प्राध्यापकहरु टिममा थिए । वैज्ञानिकहरुले प्राविधिक शब्दावली प्रयोग गरेर लेखेका लेखहरुलाई सबैले बुझ्ने सरल भाषामा ढाल्ने काम चाहिँ मैले गर्दथेँ ।
त्यसबेला जनकपुरमै लेटरप्रेसबाट पत्रिका छापिन्थ्यो, तर, फोटोको ब्लक बनाउन चाहिँ पटना जानुपथ्र्यो । उक्त पत्रिकाको नियमित अंक ४८ पृष्ठको हुन्थ्यो र विशेषांक चाहिँ ६०–८० पृष्ठसम्म पनि हुन्थ्यो । काठमाडौंबाट कम्प्युटर र वातावरण सम्बन्धी दुईवटा विशेषांक निकालेका थियौं । पत्रिका निकाल्न कतैबाट पनि संस्थागत सहयोग लिएका थिएनौं । मैले नै पत्रिका निकाल्न आवश्यक पर्ने रकम व्यवस्था गर्थे । १ हजार प्रतिबाट सुरु भएको यो पत्रिका ४ हजार प्रतिसम्म पनि बिक्री हुन्थ्यो । नेपालको पूर्वदेखि पश्चिमसम्म वितरण हुने यो पत्रिका त्यसबेला लोकप्रिय पत्रिकामध्येमा पर्दथ्यो । पत्रिका बेच्ने पसलेले बिक्री भएको सबै पैसा दिँदैनथे । त्यही भएर पनि पत्रिका घाटामै चलेको थियो । आखिरमा मैले समय दिन नसकेपछि र सधैंभरि घाटामा पत्रिका चलाउन सक्ने अवस्था नभएपछि चार वर्षपछि २०४५ सालमा ‘विज्ञान–प्रविधि’ पत्रिका बन्द भयो ।
विज्ञान लेखन प्रवद्र्धनमा नास्ट
तत्कालीन राजा वीरेन्द्रको शासनकालमा मुलुकमा विज्ञान तथा प्रविधिको प्रवद्र्धन गर्नका लागि स्वतन्त्र निकायको रुपमा सन् १९८२ मा रोयल नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (रोनास्ट) स्थापना भयो । तत्कालीन रोनास्ट (अहिलेको नास्ट) ले स्थापनाको तीन वर्षपछि विज्ञान सञ्चारको विकासका लागि विभिन्न गतिविधि सुरु गरेको देखिन्छ । विज्ञान–प्रविधिलाई आमजनतासम्म कसरी पुर्याउने र विज्ञान लेखनलाई कसरी लोकप्रिय बनाउने भन्ने उद्देश्यमा सुरुआती दिनमा नास्ट केन्द्रित हुन खोजेको पाइन्छ ।
वि.सं २०४२ सालदेखि नास्टले रेडियो नेपालमा विज्ञान र प्रविधि कार्यक्रम साप्ताहिक रुपमा सुरु गरेको थियो । यो कार्यक्रम अहिले चाहिँ रेडियो नेपालको सट्टा एफएम रेडियोबाट प्रसारण हुन्छ । सन् १९८० को दशक र सन् १९९० को मध्यसम्म विज्ञान र प्रविधि कार्यक्रम स्कुल र कलेजका विद्यार्थी तथा अध्यापकबीच लोकप्रिय थियो ।
त्यसैगरी, नास्टले वि.सं २०४२ सालदेखि ‘विज्ञान लेखमाला’ प्रकाशन गरी ‘पपुलर साइन्स’लाई जनमानसमा पु¥याउने जमर्को थालेको पाइन्छ, जसको उद्देश्य विज्ञान–प्रविधिका अन्वेषणलाई लेखनको माध्यमबाट सर्वसाधारणसम्म पु¥याउने रहेको थियो । विज्ञान लेखमालामा छापिएका लेखहरु त्यसबेला विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकाहरुले साभार गरेर छाप्ने गर्दथे । नास्टले अहिले पनि ‘विज्ञान लेखमाला’ प्रकाशन गरिरहे तापनि नियमित भने हुन सकेको छैन ।
विसं २०६० सालदेखि नास्टले नेपाली टेलिभिजनबाट ‘विज्ञान र प्रविधि’ कार्यक्रम प्रसारण गर्दै आएको छ । उक्त कार्यक्रमकी प्रस्तोता लिपिका वज्राचार्यका अनुसार विज्ञान–प्रविधिको क्षेत्रमा भएका अनुसन्धान, खोज र रोचक जानकारी दर्शकसमक्ष सम्प्रेषण गरिँदै आएको छ ।
२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि निजी क्षेत्र (व्यक्तिगत र सामूहिक) बाट विज्ञान–प्रविधिसँग सम्बन्धित केही पत्रिका बजारमा आएको देखिन्छ । तर, केही अंक प्रकाशन भएपछि ती पत्रिकाहरु बन्द भइसकेका छन् । अढाइ दशकअघि प्रकाशन सुरु भएको ‘आवृत्ति’ म्यागेजिन तीन अंक छापिएपछि बन्द भयो । उक्त पत्रिकाको सम्पादन मण्डलमा भरत पोखरेल, कृष्णज्वाला देवकोटा, अच्युतम भट्टराई (ज्ञानमित्र)लगायत पत्रकारहरु थिए । आर्थिक स्रोत तथा दीर्घकालीन योजनाको अभावमा उक्त पत्रिका पनि बन्द भएको थियो ।
विज्ञानका विद्यार्थी तथा प्राध्यापकहरुको संयुक्त प्रयासमा २०६७ साल चैतमा रेभोसाइन्स म्यागेजिनको प्रकाशन सुरु भएको थियो । यो म्यागेजिन आठ वर्षसम्म नियमित प्रकाशन भएर त्यसपछि बन्द भएको छ । प्रिन्ट संस्करण बन्द भए पनि रेभोसाइन्स अनलाइन भने नियमित सञ्चालन हुँदै आएको सम्पादक लक्ष्मण डंगोलको भनाइ छ ।
एक दशकअघि सुरु भएको विज्ञानप्रधान पत्रिका ‘साइन्स एन्ड फ्युचर’ पत्रिकाले पनि निरन्तरता पाउन सकेन । साइन्स इन्फोटेक, लिभिङ विथ आइसिटीलगायत केही म्यागेजिन भने बेलाबखतमा प्रकाशन हुँदै आएका छन् । इन्टरनेट तथा डिजिटल प्रविधिको चरम विकासका कारण विश्वव्यापी रुपमा प्रिन्ट मिडियामा देखिएको संकटसँगै पछिल्लो समय विज्ञान–प्रविधिप्रधान म्यागेजिन पनि अनलाइन संस्करणमा सीमित हुँदै आएका छन । विज्ञान–प्रविधि पत्रकारितालाई प्रवद्र्वन गर्ने क्रममा ‘साइन्स युनिभर्स’, ‘द न्यु होराइजन’, ‘म्यान एन्ड बायोस्फेयर’ आदि प्रकाशनले पु¥याएको योगदान भुल्न मिल्दैन । तथापि, नियमित स्रोत साधनको अभावले यस्ता प्रकाशनलाई निरन्तरता दिन मुस्किल छ ।
नेपालको विज्ञान पत्रकारिताको इतिहास खोतल्दा अग्रज पत्रकारका रुपमा गोकुल पोखरेलको नाम आउँछ । गोरखापत्र, राइजिङ नेपाल, नेपाल प्रेस इन्स्टिच्युट, नास्ट आदि संस्थामा कार्यरत रहँदा पोखरेल विज्ञान पत्रकारिताको विकासका लागि क्रियाशील रहेको देखिन्छ । उनले एनआरएन साइन्स फाउन्डेसनसँगको सहकार्यमा विज्ञान लेखन, पत्रकारको दक्षता अभिवृद्धि तथा चेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको भेटिन्छ ।
अर्कोतर्फ, नेपालका केही लेखकले विभिन्न मिडियामा विज्ञानका विषयवस्तुलाई जनताले बुझ्ने भाषामा लेख्दै आएको पाइन्छ । विज्ञान लेखनलाई निरन्तरता दिएर लोकप्रिय बनाउने श्रेय नास्टका पूर्वउपकुलपति प्रा. डा. दयानन्द वज्राचार्य, छविलाल गजुरेल, डा. तीर्थबहादुर श्रेष्ठजस्ता लेखकलाई जान्छ ।
पछिल्लो समयमा डा. निरञ्जन पराजुली, डा. उत्तमबाबु श्रेष्ठ, कमल मादेनलगायतले विभिन्न अखबारमा जानकारीमूलक र उपयोगी विज्ञान लेखहरु लेख्दै आएका छन् । आर्टिकललाई निरन्तर पढ्न यहाँ क्लिक गर्नुहोस् - नेपालमा विज्ञान–प्रविधि पत्रकारिताका आयाम - २