काठमाडौं । विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधि बुटवलकी रक्षा पन्तले जितेकी छन् । उनी अभिनेत्री सुरक्षा पन्तकी बहिनी हुन् ।
सुरक्षाले सामाजिक सञ्जालबाट बहिनीको जितमा बधाइ दिएकी छन् । नेपाल पुलिस क्लबमा शनिबार बेलुका आयोजित ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।फिनालेमा प्रहरी पूर्वप्रमुख सर्वेन्द्र खनालले समाजमा विद्यमान विकृतिमध्ये तपाईं के हटाउन चाहनुहुन्छ भन्ने निर्णायक प्रश्नको सटिक जवाफ दिएकी थिइन् ।मस्ट फोटोजेनिकको उपाधि जितेकी उनले अमेरिकामा आयोजना हुने बताइएको ‘मिसेस वर्ल्ड २०२६’ को प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएकी छिन् ।
मिसेस नेपाल वर्ल्डमै विद्या चौहान फस्ट रनर्सअप, एलिना केसी सेकेन्ड रनर्सअप, निर्मला सुनुवार थर्ड रनर्सअप घोषित भए ।प्रतियोगितामा सञ्जु भट्ट मिसेस नेपाल इन्टरनेसनल भइन् । दीपिका तामाङ एमएस नेपाल इन्टरनेसनलको विजेता भइन् ।मिसेस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ र एमएस नेपाल इन्टरनेसनल विजेताले सिंगापुरमै हुने एमएस इन्टरनेसनल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउने छन् ।
सोही अवसरमा अभिनेत्री, कथाकार तथा गीतकार पूजा चन्दलाई ३ दशकदेखि नेपाली चलचित्रका साथमा कला, संस्कृति र साहित्यको क्षेत्रमा योगदान पुर्याएवापत मानार्थ मिसेस नेपाल वर्ल्ड २०२५ बाट सम्मानित गरियो ।
विभिन्न मनोरञ्जक प्रस्तुतिसहित रिबन इन्टरटेनमेन्टले प्रतियोगिता आयोजना गरेको हो ।