‘जेरी अन टप’ले दुई दिनमा डेढ करोडभन्दा माथि उठाएको दाबी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५ दिन अगाडि
‘जेरी अन टप’ले दुई दिनमा डेढ करोडभन्दा माथि उठाएको दाबी

काठमाडौं -चलचित्र ‘जेरी अन टप’ले दुई दिनमा डेढ करोड रुपैयाँभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माणपक्षले दाबी गरेको छ ।

पहिलो दिन शुक्रबार ७२ लाख ५९ हजार र दोस्रो दिन ८६ लाख ३८ हजार ग्रसकलेक्सन गरेको छ । दुई दिनमा एक करोड ५८ लाख ९७ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता सरोज न्यौपानेले बताएका छन्। सरोजले यो बक्सअफिस रिपोर्ट भन्दै सञ्चारमाध्यमलाई दिएका छन् । चलचित्र विकास बोर्डले आधिकारिक रूपमा दिएको रिपोर्ट भने होइन । उनले अष्ट्रेलियामा दुई दिनमा ‘जेरी अन टप’ले ४७ लाख नेपाली रुपैयाँ ग्रसकलेक्सन गरेको उनले जानकारी दिएका छन् । “नेपाल र अस्ट्रेलियामा दुई दिनमा दुई करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ,” निर्माता न्यौपानेले भने । तिहारको अवसर पारेर गत शुक्रबारबाट रिलिज भएको चलचित्रलाई राम्रो वर्ड अफ माउथ मिलेको छ । हिमालको दृश्य र अभिनय मन परेको पब्लिक रिभ्यू सिनेमाले पाइरहेको छ ।

‘जेरी अन टप’लाई सुयोग गुरुङले निर्देशन गरेका छन् । ‘जेरी अन टप’मा अनमोल केसी, आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी, सुरक्षा पन्त लगातयका कलाकारको अभिनय छ । अनमोल र भुवन यो सिनेमामा बाउछोराका भूमिकामा छन् । उनीहरू एउटै चलचित्रमा काम गरेको यो पहिलो चलचित्र हो । अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ । चलचित्रको कथा हेमराज बिसीको हो ।