म आफ्नै बाटोमा उन्मुक्त भएर हिँडिरहेको थिएँ । मेरो अगाडि ठिङ्ग यमराज उभिएर बाटो छेक्यो।
भीष्म जाेशी-
म आफ्नै बाटोमा उन्मुक्त भएर हिँडिरहेको थिएँ । मेरो अगाडि ठिङ्ग यमराज उभिएर बाटो छेक्यो।
हुलियाबाटै प्रस्ट चिनेँ । ऊ ठ्याक्कै मैले सिनेमा र कार्टुनमा देखेजस्तै थियो।
तिमी यहाँ किन? खोइ छोड मेरो बाटो! म अगाडि बढ्न खोजेँ।
“अहँ। छोड्दिन। सकियो अब तिम्रो बाटो। म तिमीलाई लिन आएको ।” टसको मस नगरी भन्यो उसले।
“ओहो ! हो र ? पहिले सूचना गरेको भए सजिलो हुन्थ्यो नि तिमीलाई नै ! मैले विनम्र भावमा सोधेँ ।
“केही छैन । म प्रक्रिया पुर्याएरै लैजान्छु नि।”
यति भनेर उसले मलाई आर्यघाटमा पुर्यायो।
चितामा जल्नु अघि यमराजले मेरो कानमा सुटुक्क भन्यो “कात्रो त चाहियो नि लास छोप्न। खै पैसा देउ त अलिकति।”
“मसँग कात्रो किन्ने पैसा नै छैन के गरुँ ? भनेँ मैले
“लाजसम्म त छोप्नु पर्छ नि” उसले भन्यो
“लासलाई पनि के को लाज यार ! नाङ्गै जलाइदेउ” मैले जवाफ फर्काएँ।
मेरो कुरा र भाव देखेर अचम्म मान्दै यमराजले भन्यो “मृत्युदेखि डर लाग्दैन तिमीलाई?”
अहँ। एकै शव्दमा भनि दिएँ।
“किन नि?” आश्चर्यचकित भएर हेरिरह्यो मलाई।
“जसलाई तिमी मृत्यु सम्झिन्छौ, वास्तवमा जीवन त्यै हो ! हैन र ? मैले उल्टै प्रतिप्रश्न गरेँ ।
किंकर्तव्यविमूढ भयो एकछिन यमराज। अनि असहज तरिकाले बोल्यो “खासमा तिमीलाई लान मन त थिएन, तर स्वर्गमा अलि बौद्धिक मान्छेको खाँचो पर्छ त्यसैले।”
“किन नि ?” प्रश्न गर्छु।
“स्वर्गमा पनि राजनीति र भ्रष्टाचारले पराकाष्ठा नाघिसक्यो,” खिन्न भएर भन्यो यमराजले।
म एकछिन मौन भएर सुनिरहेँ, हेरिरहेँ ।
यमराजले मेरो मौनता भंग गर्दै सहानुभूतिपूर्ण आफ्नै ढंगमा भन्यो
“यति चाँडो मर्छु भनेर सोचेक थिएनौ होला है?”
मैले मुस्कुराउदै भने “भोली मर्दैछु भन्ने सोचेर नै म हरेक दिन सानदार तरिकाले बाँच्छु, अझै केही भन्नु छ ?
त्यसपछि यमराज दिग्भ्रमित भएर आगो खोज्ने बहानामा निस्कियो। अहिलेसम्म सम्म ऊ फर्केको छैन ।
तस्विर- कुम्हालेको चक्र (लघु चलचित्र) बाट