काठमाडौं - आगामी मंसिर ४ गतेको संघ र प्रदेको निर्वाचन नजिकिँदै गर्दा दलहरूमा चुनावी सरगर्मी बढ्दो छ । निर्वाचनकालागि उम्मेद्वार छनोटको कसरतमा छन् दलहरू।
ताप्लेजुङमा पनि यसको प्रभाव राम्रैसँग देखिन्छ । विशेष गरेर नेकपा एमालेको राम्रो पकड रहेको ताप्लेजुङमा यो पटक संघ र प्रदेशका लागि कसले टिकट पाउँछ भन्ने धेरैलाई चासो पनि छ । कारण, नेकपा उमालेका केन्द्रिय सचिव योगेश भट्टराईदेखि अन्य थुप्रै नेताहरूले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनु पर्ने दाबी गर्दै आएका छन् ।
त्यसमध्ये, नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् ताप्लेजुङ जिल्ला इन्चार्ज तिलकुमार मेन्याङ्बो, पूर्व संविधानसभा सांसद पासाङ शेर्पासहित नेकपा एमाले केन्द्रीय सदस्य उर्मिला थेवेको पनि संघ तर्फ टिकट पाउनु पर्ने दाबी गर्दै आएका छन् । तथापि, पार्टीले जसलाई टिकट दिन्छ उसका लागि सबैले सहयोग गरेर एमालेलाई जिताउनु पर्ने ऊनीहरूको साझा धारणा छ । यसै सन्दर्भमा नेकपा एमालेकी केन्द्रिय सदस्य उर्मिला थेवेसँग नेपाल विशेषका लागि गरिएको यो विशेष कुराकानी :
संघ र प्रदेशको निर्वाचन नजिकिदै गर्दा ताप्लेजुङ्को लागी तपाईको तयारी के हो ?
पार्टीका लागि आजसम्म गरेको दुःख र आजसम्मको योगदान सम्झँदा म आकाक्षी हुनु स्वाभाविक हो । मेरा समकक्षीहरुले आफ्नो ठाँउमा दुःख गर्नुभयो मैले मेरो ठाउँमा दुःख गरेकी छु । पार्टीले भोली के गर्छ एउटा कुरा भयो, तर मेरो पनि यस पटक ताप्लेजुङको खुल्ला तर्फबाट निर्वाचनका लागी दाबी रहन्छ।
अब उठ्नकै लागी त पुर्वमन्त्री समेत हुनुभएका योगेश कुमार भट्टाराई, पार्टीका जिल्ला इन्चार्ज तथा पोलिटव्युरो सदस्य तिलकुमार मेन्याङ्वो, टंक आङ्बोहाङ्, पासाङ शेर्पा लगायतको दाबी छ भन्ने सुनेकी छु । उहाँहरुले लड्ने ठाउँमा मेरो पनि दाबी रहनु मेरो अधिकारको कुरा पनि त हो ।
पार्टीले तपाईलाई नै टिकट दिने संभावना कति छ ?
भोली टिकट कसले पाउँछ त्यो पार्टीको निर्णय हो । तर, जिल्लामा जित्ने सम्भावना म आफूमा देख्छु । जनता मेरो पक्षमा र नेकपा एमालेकै पक्षमा छन् ।
तपाईं ले जित्ने आधारहरु चाँहि के के हुन् र ?
मैले मेरो ६२ बर्षको उमेर पुरै पार्टीलाई समर्पण गरेकी छु। यही समर्पण नै मेरो जीतको आधार हो । अझ भनौ, मेरो सम्पूर्ण परिवार नै पार्टीलाई र जनतामाझ समर्पित छ। रातदिन नभनी हामी पार्टीको लागी काम गरिरहेका छौं । जनताका लागि काम गरिरहेका छौं ।
मैले आजसम्म राजनीति बाहेक केहि गरेकी छैन । न कुनै व्यवसाय गरेकी छु न त, न त जागरी खाएकी छु, न त पार्टीबाट कुनै फाइदा उठाएर त्यसको दुरुपयोग नै गरेकि छु । यो उमेरसम्म आइपुग्दा पार्टी र जनताका लागी धेरै गरेकी छु जस्तो लाग्छ । त्यसैले यो पार्टी र जनताका लागि मैले गरेको निश्वार्थ सेवा नै मेरो जीतको आधार हो । यदी देखाउन मिल्ने भए ऐना जसरी देखाईदिन्थँ कि, आजसम्म मैले के–के गरेँ भनेर । तर पनि त्यो ताप्लेजुङका जनताले देखेका छन् । आवश्यक परेका दिन र जनताले मैले गरेका कामको सुची माग्नु हुन्छ भनेपनि बुँदागत रुपमा लेखेर दिन सक्छु । मैले जनताका लागी र पार्टीका लागी सम्पूर्ण जिवनको पसिना बगाएको छु ।
अब पार्टीको सचिव पदमा रहनु भएका योेगेश कुमार भट्टराई हुनुहुन्छ, पोलिट ब्युरो सदस्य जिल्ला यन्चार्ज लगायत पनि आकांक्षीहरू हुनुहुन्छ, उहाँहरुलाई पार्टीले कुन हिसाबले समायोजन गरेर अघि बढ्ला त त?
म पार्टीको केन्द्रिय कमिटी सदस्य मात्र हुँ । मैले केन्द्रीय तहका नेताहरुलाई सुझाव दिन मिल्दैन त्यसमा पनि म यसपटक आकांक्षीको रुपमा उभिएकी छु । मैले यसो गरे राम्रो हुन्छ भन्नु पनि हुँदैन । त्यसैले कसलाई कहाँ व्यबस्थापन गर्ने हो र पार्टीलाई जीत सुनिश्चित गराएर कसरी अघि बढ्ने हो त्यो नेतृत्व तहकै हातमा छ।
देशको राजनीति अवस्था हेर्दा गठबन्धन एकातिर नेकपा एमाले एकातिर देखिन्छ । ताप्लेजुङको सन्र्दभमा चाँहि नेकपा एमालेको अवस्था कस्तो छ ?
ताप्लेजुङमा नेकपा एमालेको अवस्था कस्तो छ भन्ने कुरा विगतलाई हेर्दा पनि छर्लङ्गै छ। २०६४, ०७०,०७४ लगायतका निर्वाचनमा ताप्लेजुङले एमालेकै नेतृत्व पाएको हो । त्यसैले यहाँ कुनै गठबन्धन आएर केही हुन्छ जस्तो मलाई लाग्दैन ।
र, यदी म उम्मेद्वार भएका खण्डमा गठबन्धन पनि फुट्छ जस्तो लाग्छ । किनकी, म आफू धेरै कुराको प्रतिनिधित्व गर्छु । म नेकपा एमालेको केन्द्रिय सदस्यमात्र होइन एक महिला पनि हुँ । अर्का तर्फ नेकपा एमाले ताप्लेजुङका लागी मैले धेरै गरेकी छु । गठबन्धनका साथिहरुलाई म कस्तो महिला हुँ भन्ने कुरा पनि प्रष्ट छ। त्यसैले यो थाहा हुँदाहुँदै उहाँहरुले अर्को उम्मेद्वार लिएर आउनुहुन्छ जस्तो मलाई चाँहि लाग्दैन ।
भोली पार्टीले उर्मिला थेवेलाई बाहेक अन्य आकांक्षीलाई टिकट दिएको खण्डमा तपाईंको भुमिका कस्तो रहन्छ ?
पार्टीबाट जस्तो निर्णय आएपनि हामीले ताली बजाएर स्विकार्नु पर्छ । जे पार्टी निर्णय गर्छ त्यो निर्णय नै स्वागत योग्य निर्णय हो । र, मैले टिकट नपाएको अवस्थामा हिजो ०३५ सालबाट जसरी, पार्टीका लागी खटिएकी छु त्यो भन्दा तेब्बर बढी खटिएर नेकपा एमालेको उम्मेद्वारलाई जिताउन खटिने छु । र पार्टीका लागी आफ्नो सम्पूर्ण जिवन र योग्यता समर्पण गर्नेछु ।
अन्त्यमा, आजसम्मको सेवा एक ठाउँमा छ । यदि तपाईंले टिकट पाउनु भयो र ताप्लेजुङबाट जीत हाँसिल गर्नुभयो भने चाँहि के–के गर्ने योजना बनाउनु भएको छ?
पार्टीको सदस्य मात्रै भएर पनि मैले धेरै गर्न सकेँ जस्तो लाग्छ । सडक, पुल, खानेपानी, शिक्षा, स्वास्थ्य र सिँचाइमा मैले धेरै गरेँकी छु । मेरो क्षेत्र सिनाममा गएर पनि हेर्न सक्नुहुन्छ । त्यहाँका जनतालाई सोध्दा पनि बुझ्न सकिने कुरा हुन्। र, जिल्लाका लागि मैले अब गर्ने काम पनि यीनै विषय हुन् । जुन विषय जनताका लागि आवश्यक छन् । ताप्लेजुङ सिंगो जिल्लाको आवश्यकतामाथि रहेर नै काम गर्ने हो ।
तर यहाँ विडम्बना चाँहि, एउटा सर्वसाधारण त्यसमा पनि महिला भएर मैले गरेका हरेक काम ओझेलमा परेका छन् । यदी त्यहि ठाँउमा म पूरुष हुन्थेँ भने आज कुनै राष्ट्रिय स्तरको नेता वा त्यो क्षमता ममा हुने थियो । त्यस्तै पदमा पुगेकी हुने थिएँ होला।