‘संघका तर्फबाट उम्मेद्वारी दिने तयारीमा छु, हेरौं पार्टीले के निर्णय गर्छ’ – तिलकुमार मेन्याङ्बो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३४ दिन अगाडि
‘संघका तर्फबाट उम्मेद्वारी दिने तयारीमा छु, हेरौं पार्टीले के निर्णय गर्छ’ – तिलकुमार मेन्याङ्बो

काठमाडौं – संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा दलहरूमा चुनावी सरगर्मी बढ्दो छ । निर्वाचनकालागि उम्मेद्वार छनोटको कसरतमा जुटेका छन् दलहरू । ताप्लेजुङमा पनि  यसको प्रभाव राम्रैसँग देखिन्छ ।

विशेष गरेर नेकपा एमालेको राम्रो पकड रहेको ताप्लेजुङमा यो पटक संघ र प्रदेशका लागि कसले टिकट पाउँछ भन्ने धेरैलाई चासो छ । कारण, नेकपा उमालेका केन्द्रिय सचिव योगेश भट्टराईदेखि अन्य थुप्रै नेताहरूले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि टिकट पाउनु पर्ने दाबी गर्दै आएका छन् । 

त्यसमध्ये, पूर्व संविधानसभा सांसद पासाङ शेर्पा, नेकपा एमाले केन्द्रीय सदस्य उर्मिला थेवेसहित नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् ताप्लेजुङ जिल्ला इन्चार्ज तिलकुमार मेन्याङ्बोको पनि संघ तर्फ टिकट पाउनु पर्ने दाबी गर्दै आएका छन् । सकेसम्म सहमतिमा जाने प्रयास गर्ने र यदी सम्भव नभए पार्टीले जसलाई टिकट दिन्छ उसका लागि सबैले सहयोग गरेर एमालेलाई जिताउनु पर्ने ऊनीहरूको साझा धारणा छ । यसै सन्दर्भमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् ताप्लेजुङ जिल्ला इन्चार्ज तिलकुमार मेन्याङ्बोसँग नेपाल विशेषका लागि गरिएको यो विशेष कुराकानी :

भिडियाे संवाद

 

ताप्लेजुङमा एमाले के गर्दैछ अहिले ? 

अहिले नेकपा एमाले आगमी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागी व्यापक तयारी गरिहरको छ ।

निर्वाचनको तयारीका लागी केन्द्र स्तर र जिल्ला स्तरमा के के भइरहेको छ ? 

जिल्ला स्तरमा पार्टीको कामलाई व्यवस्थित गर्नका लागी अभियान भईरहेको छ । पार्टीका नेता कार्यकर्ता जिल्लामा रहेका ९ वटा पालिका तथा त्यसमा रहेको ६१ वटा वडा मा विभिन्न भेला प्रशिक्षण कार्यक्रम तथा पार्टीलाई अगाडी बढाउने कुरामा खटिरहनु भएको छ । 

आगामी संघ र प्रदेशको निर्वाचनका लागि ताप्लेजुङमा नेकपा एमाले रणनीतिक रुपमा कसरी अघि बढिरहेको छ ? 

ताप्लेजुङमा नेकपा एमाले मंसिर ४ गतेको संघ र प्रदेश निर्वाचनका लागी व्यापक तयारीमा जुटेको छ । र, जसरी नेकपा एमाले विरुद्ध गठबन्धनको चर्चा छ त्यसले हामीलाई ठूलो असर गर्दैन ।  हामी जस्तोसुकै गठबन्धन भएपनि नेकपा एमालेको जितलाई सुनिश्चित गर्ने कुरामा ढुक्क छांै, लागि परेका छौं। 

ताप्लेजुङमा गत स्थानीय तहको निर्वाचनमा एमालेले सोचेजस्तो परिणाम ल्याउन सकेन । त्यसलाई एमालेले कसरी समीक्षा गर्यो ?

ताप्लेजुङ जिल्लामा गएको स्थानीय तहको निर्वाचनमा जुन परिणाम आयो त्यो नेकपा एमालेका लागि धेरै नराम्रो होइन । हामिले ३ वटा पालिकामा अध्यक्ष र ३ वटा पालिकामा उपाध्यक्ष पनि जित्यौं । ६१ वडा मध्ये ३१ वटामा एमालेले नै जित हाँसिल गरेको छ । यस अर्थमा ताप्लेजुङमा हामीले बहुमत नै ल्याएका छौं । यो परिणाम नेकपा एमाले एक्लै एकातिर र अन्य दलहरु अर्कातिर हुँदाको परिणाम हो । अझ केही पालिकामा हामी झिनो मतान्तारले पराजित भएका छौं । त्यसैले सुधार गर्न धेरै बाँकि छ र त्यसमा हामी सचेत छौं।

स्थानीय तहमा प्राप्त मतका आधारमा संघ र प्रदेशको निर्वाचनमा एमालेको अवस्था कस्तो रहला, केहि आँकलन गर्न सकिन्छ ?

ताप्लेजुङमा वडा तहलाई आधार मान्दा बहुमत प्राप्त गरेका छौं । त्यसै अब हुने संघ र प्रदेशको निर्वाचनमा पनि हामी पहिलो बन्छौं । हामी हाम्रो जित हुनेमा बिश्वस्त छौं। 

गएको निर्वाचनमा पार्टीभित्रै अन्तरघात भयो भन्ने सुनिएको थियो । त्यसबारेमा पार्टीले के–कस्ता कदम चाल्यो ?

स्थानिय तहको निर्वाचनमा आकांक्षीहरु धेरै हुन्छन् । सबैलाई टिकट मिल्दैन । जसले गर्दा केही वडाका साथीहरुमा असन्तुष्टि देखिएको हो ।  केही–केही स्थानमा त्यही असन्तुष्टीका कारण उम्मेद्वारलाई घात पनि भएको । परिणाम तः हाम्रो उम्मेद्वारहरूले हार्न पुगे र यस विषयलाई जिल्ला कमिटी ताप्लेजुङले सुक्ष्मरूपमा समिक्षा गरेको छ । 
यसबाट पार्टीले केही पाठ पनि सिकेको छ । यसलाई मेट्नका लागि हामीले गाँउ–गाँउमा विभिन्न किसिमका गोष्ठी सम्मेल, प्रशिक्षण कार्यक्रमको आयोजना पनि गरिरहेका छौं । त्यसैले अबका दिनमा पार्टीमा यस्तो नहुने कुरामा पनि हामी ढुक्क छौ। 

अब संघ र प्रदेशको निर्वाचनका लागि ताप्लेजुङबाट क–कस्ले टिकट पाउँछ ? संभावना के देख्नु हुन्छ ?

यस विषयमा को उठ्ने, कसले टिकट पाउने भनेर भन्न सक्ने अवस्था छैन । यद्यपी यही भदौ २२ गते भित्र पार्टीले उम्मेद्वारको सिफारिस  गरिसक्नु पर्ने निर्णय गरेको छ । त्यो दिन भित्र हामी उम्मेद्वारबारे पक्कै टुंगो लगाउने छौं ।  

अब, व्यक्तिगत रुपमा आकांक्षी धेरै हुनुहुन्छ होला ! यसबीचमा म आफू पनि संघका लागि एक आकांक्षी हुँ । उम्मेद्वारी दिने मेरो पनि तयारी छ । तर, यसलाई औपचारिक मान्न मिल्दैन । यो मेरो व्यक्तिगत निर्णय हो । भोली पार्टीले के गर्छ भन्ने कुरा भोली नै तय हुन्छ। 

यसपटक ताप्लेजुङ जिल्लाबाट संघतर्फ आकांक्षीहरु चाँहि को–को हुनुहुन्छ ? र तपाईंले टिकट पाउने सम्भावना कति छ ? 

आंकाक्षीहरु को–को हुनुहुन्छ भन्ने कुरा उहाँहरूको व्यक्तिगत कुरा हो । तर हालसम्म हामीले जिल्ला स्तरमा बसेर कुनै छलफल नै गरेका छैनौं । यति हो कि,  बहालमै रहनु भएका प्रतिनिधि सदस्य एवम् पूर्वमन्त्रीसमेत रहनुभएका पार्टीका केन्द्रिय सचिव योगेशकुमार भट्टराईसँग केही छलफल भने गरेको छु । यद्यपि, हामीले कुनै निर्णय गरेका छैनौं । त्यसैले पुनः छलफल बसेर मात्र त्यसबारेमा आँकलन गर्न सकिएल । 

बाहिर हल्ला त ४/५ जनाको आकांक्षी हुनुहुन्छ भन्ने हल्ला छ । यसले त पार्टी भित्रै अस्वस्थ्य प्रतिस्पर्धा हुने देखियो नि ? 

निर्वाचनका लागि केही व्यक्तिले इच्छा राख्नु स्वभाविक हो । यसलाई अस्वस्थ प्रतिस्पर्धा भन्नै मिल्दैन। भोली पार्टीले कसलाई उम्मेद्वार बनाउछ, ऊ नै आधिकारीक रुपमा  उम्मेद्वार हुने हो । र, ऊ मात्रै उम्मेद्वार हो । त्यसैले, इच्छा व्यक्त गर्ने कुरालाई अन्यथा ठान्न मिल्दैन ।

आंकाक्षीहरु धेरै हुँदा निर्णय कसरी हुन्छ, प्रक्रिया के छ ? 

प्रदेश र संघको उम्मेद्वारको लागि क्षेत्रीय संमन्वय कमिटीको र जिल्ला कमिटीको बैठक छिट्टै बस्छौं । त्यो बैठक भन्दाअघि नै हामी छुट्टै बैठक बसेर आंकाक्षीहरु बीचमा कुराकानी गरेर सकेसम्म सहमतिमै जाने प्रयास गर्ने छौं । सर्वसम्मत गर्ने र भएन भने पार्टीले  ३ जनाको नाम सिफारीस गर्ने छ । 

त्यो सुचिलाई क्षेत्रीय संमन्वय कमिटीमा पठाइने छ र, क्षेत्रीय संमन्वय कमिटीले जिल्ला तहमा पठाउने छ । जिल्लाले केही परिवर्तन गर्न सक्ने र त्यो सूचिलाई जिल्लाले प्रदेशमा पठाउने छ । यस्तै संघका लागि जिल्ला कमिटीले प्रदेश कमिटीलाई पठाउछ। प्रदेश कमिटीले जस्ताको त्यस्तै वा रायसहित केन्द्रिय कमिटीमा पठाउने छ । र,  केन्द्रिय कमिटीले निर्णायक  प्रकृया अघि बढाउने छ।

यदि पार्टीले तपाईंलाई नै टिकट दियो भने जित्ने आधार के–के हुन् ? सँगै गठबन्धन पनि कायमै छ, यसले प्रतिस्पर्धा त अलिक चर्को हुने देखिन्छ नि?

कक्षा ५ पढ्दादेखि मेरो राजनीतिक यात्रा सुरु भएको हो । म त्यही समय राजकाज अपराध मुद्दामा जेलसमेत परेको हुँ । २ बर्ष चन्द्रगढीमा जेल जीवन विताएँ । जब बहुदल सुरु भयो मैले २२ बर्ष पार्टीको जिल्लाको प्रमुख भएर काम गरेँ । २०५६ सालको निर्वाचनमा एमाले बाट निर्वाचितसमेत हुँ । 

यो विषय किन पनि जोडेको हुँ भने, मैले एउटै जिल्लामा ३०–४० वर्षसम्म राजनीति गरेको हुँ । त्यसैले त्यहाँको हरेक गाउँ, टोल, बाटाघाटा, चौतारासमेत सबै थाहा छ । त्यो ठाँउमा के कुराको आवश्यक छ, कुन काम गर्न बाँकी छ, के हुँदा त्यस क्षेत्रलाई राम्रो हुन्छ भन्ने कुरामा म जानकार छु । यस हिसाबले मलाई पार्टीले टिकट दिएमा त्यहाँका हरेक विषयलाई म समेट्ने छु । र, अर्को प्रसंगमा ताप्लेजुङमा एमालेको पछिल्लो अवस्था बलियो हुनाले हामीलाई जित निकाल्न सहज नै छ।

निर्वाचनका प्रसंगमा ताप्लेजुङमा अलि बढी नै जातीय राजनीति छ भन्छन् नि?

यो शब्द कसरी आयो म आफै जानकार छैन । यदि कोही कसैबाट सुन्नु भएको हो भने कसले भन्यो मलाई प्रत्यक्षरूपमा भन्नुहोस् । त्यसो हुँदा अझ सहज हुन्छ । 
तपाईंहरु जानकार नै हुनुहुन्छ, यसअघि हामीले क. योगेश कुमार भट्टराईलाई जिताएकै हौं ।  उहाँलाई उम्मेद्वार बनाउने कुरादेखि नै म जोडीएको थिएँ । मैले नै उहाँको नाम प्रस्ताव गरेको थिएँ । सर्वसम्मत हामीले सिफारीस गरेर अहोरात्र खटेर निर्वाचित गराएका हौं । यो कुराले पनि तपाईंको प्रश्नलाई खण्डन गर्छ नै । यति मात्र नभइ, २०४८ सालमा ताप्लेजुङमा २ वटा क्षेत्र हुँदा क्षेत्र नं. १ बाट हामीले कुल प्रसाद उप्रेतीलाई निर्वाचित गरेर पठाएक हौं ।

२०५६ सालमा क्षेत्र नं १ बाट म स्वयम् र क्षेत्र नं. २ बाट ओम ओझा निर्वाचित भएका थियौं । मलाई याद छ, त्यो बेला पार्टीमा ठूलो समस्या थियो । माले र एमालेको विषयले त्यति बेलको परिस्थिति सहज थिएन । तर पनि हामी निर्वाचिन भएका थियाैं । यसरी हेर्दा यो विषयमा कुरा उठाउँने व्यक्ति नै गलत हुनुपर्छ । खास गरी कम्युनिष्ट पार्टीमा यो विषय आउनु नै हुँदैन र कल्पना समेत गर्न सकिन्न ।

३० वर्षदेखि आफ्नो विरासत कायम राखेको ताप्लेजुङमा नेकपा एमाले फेरि जित निकाल्नका लागी मतदातामाझ के–के विषय लिएर जाँदैछ? 

बहुदल प्राप्त गरेसँगै नेकपा एमालेले आफ्नो विरासत कायम राखी राखेको अवस्था हो ।  पार्टीलाई यो स्थानसम्म ल्याउनका लागि ताप्लेजुङका हजारौं नेता कार्यकर्ताको त्याग र बलिदान छ । अब फेरि पनि ताप्जेलुङलाई नेकपा एमालेको बलियो किल्लाको रुपमा स्थापित गर्ने छांै । यसका लागि अहिले ताप्लेजुङमा गाँउ–गाँउमा विभिन्न कार्यक्रम भेला तथा प्रशिक्षण भईरहेका छन् । र, ताप्लेजुङमा जति पनि विकास भए जति पनि योगदान पुग्यो त्यसमा एमालेका नेता कार्यकर्ता अनि निर्वाचित जन प्रतिनीधिहरुको ठूलो योगदान छ । 

सोचेको भएको छैन हो, तर विकास जस्तो कुरा एकैपटक पनि त हुँदैन।  ताप्लेजुङमा जतिपनि विकास भएका छन् त्यसमा नेकपा एमालेको सवैभन्दा ठूलो योगदान छ । संमृद्ध  ताप्लेजुङ बनाउन नेकपा एमाले हिजो पनि लागिपरेको थियो र भोलीका दिनमा पनि नेकपा एमाले निरन्तर रुपमा सक्रिय हुने छ। ताप्लेजुङका जनताका लागि एमाले कटिवद्ध छ । 

पछिल्लो समय नेकपा एमालेले फुट व्यहोरेको छ । यसले निर्वाचनमा कति असर पुर्याउला?

पार्टी फुट्नु हुँदैनथ्यो, फुट्यो यसले नेकपा एमालेलाई पक्कै पनि धेरथोर असर गर्छ÷गरेको छ । तर जति फुट भएर अलग हुनुभएको छ त्यो भन्दा ठूलो संख्यामा नेकपा एमालेमा प्रवेश पनि गर्नुभएको छ । नेकपा माओवादीबाट धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । यस्तै अन्य पार्टीबाट पनि धेरै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमालेको ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्न नारा छ यसबाट पनि धेरै प्रभावित हुनुहुन्छ । र, देशलाई समृद्ध बनाउँन, नेपालीहरूलाई सुखी बनाउन नेकपा एमाले नै आवश्यक छ। 

अन्तिममा, ताप्लेजुङमा नेकपा एमालेले यो पटक चुनावी तालमेलमा कस्ता रणनीति लिन्छ? 

नेकपा एमालेले वा पार्टी अध्यक्षले कुनै दललाई तालमेल नगर्ने कहिल्यै भनेको छैन । र, कुनै दल तालमेलका लागी तयार छन् भने नेकपा एमालेको ढोका सधैं खुल्ला छ र रहने छ।