कोभिडले पारेकाे असर न्यूनिकरण सुनिश्चित गर्न आइएलओको सुझाव

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५० दिन अगाडि
कोभिडले पारेकाे असर न्यूनिकरण सुनिश्चित गर्न आइएलओको सुझाव

काठमाडौं । दक्षिण एशियाका रोजगारदाता, ट्रेड युनियन र सरकारी प्रतिनिधिहरूबीच पोस्ट कोभिडको अवस्थाकाे बारेमा काठमाडौंमा छलफल भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको पहलमा आयोजित कार्यक्रममा कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा पारेको प्रभाव बारेमा छलफल भएको थियो । बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ विषयमा आयोजित कार्यक्रममा नेपाल, बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नया चुनौतीहरू देखापरेको बताए । चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक भएकोमा जोड दिंदै उनले त्यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेको बताए।

दक्षिण एशियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिले पनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्याेगहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र कार्यस्थलको सुधारिएको अवस्था सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै आइएलओका नेपाल निर्देशक डा. रिचार्ड हवार्ड, आइएलओ भारतका वरिष्ठ विशेषज्ञ रवि पेरिस, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव लगायतले धारणा राखेका थिए ।