महाभारतमा यस्तो थियो दुश्यन्त शकुन्तलाको प्रेमकथा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५७९ दिन अगाडि
महाभारतमा यस्तो थियो दुश्यन्त शकुन्तलाको प्रेमकथा

यो प्रसिद्ध कथा महाभारतमा पाइन्छ। पुरुषवंशका राजा दुष्यन्त र शकुन्तलाका छोरा भरतलाई 'महाभारत'मा वर्णन गरिएका १६ उत्कृष्ट राजाहरूमा गनिन्छ। कालिदासको महान संस्कृत ग्रन्थ 'अभिज्ञान शकुन्तलम' को एक विवरण अनुसार, भरतवर्षको नाम राजा दुष्यन्त र उनकी पत्नी शकुन्तलाका छोरा भरतको नामबाट राखिएको थियो। मरुद्गणको कृपाले भरतलाई भारद्वाज नामको पुत्र प्राप्त भयो। भारद्वाज महान ऋषि थिए। चक्रवर्ती राजा भरतको चरित्र महाभारतको आदिपर्वमा पनि उल्लेख छ।

पुरुबाट अघि बढेको वंशमा केही पुस्ताहरूपछि राजा विश्वामित्र आए, जसलाई त्यसबेला कौशिक भनिन्थ्यो । ऋषिमुनिहरूको शक्ति देखेपछि कहीँकतै उनलाई ऋषिको तुलनामा राजाको शक्ति ज्यादै कम छ भन्ने महसुस हुन थाल्यो । तसर्थ, उनी राजकुलमा जन्मिएको भएपनि ऋषि बन्न चाहन्थे । उनी जङ्गलमा गए अनि घोर तपस्या शुरु गरे । उनको घोर तपस्यालाई देखेर, इन्द्रले मनमनै सोचे, “यदि विश्वामित्रले आफूले चाहेको कुरा पाए भने, मेरो श्रेष्ठता खतरामा पर्नेछ ।“ त्यसैले, उनलाई मोहजालमा पार्नको लागि आफ्नी अप्सरा मेनकालाई पठाए । मेनकाको काम भनेको विश्वामित्रलाई मोहित गरेर उनको तपस्या र साधनालाई भङ्ग गर्नु थियो । उनी यसमा सफल भइन् र पछि एउटी छोरीलाई जन्म दिइन् ।

केही समयपछि, विश्वामित्रलाई आफूले साधनाद्वारा हासिल गरेको सबैथोक आफ्नो ध्यान भट्किएर गुमाएको कुरा बोध भयो । उनी क्रोधित हुँदै आमा–छोरी दुवैलाई यत्तिकै छोडेर हिँडे । एक अप्सरा हुनुको नाताले उनी यस धरतीमा पाहुना मात्रै थिइन्— उनको भिसाको अवधि सीमित समयको लागि थियो ! उनी फर्किन चाहन्थिन् । उनी आफ्नी छोरीलाई उसको बुबाको साथमा छोड्न सक्थिनन्, किनकि विश्वामित्र छोरीलाई अपनाउने पक्षमा थिएनन् । अतः मेनकाले बच्चालाई मालिनी नदीको किनारमा यत्तिकै छोडेर गइन् ।

शकुन्तलाको जन्म

त्यहाँ केही सकुन चराहरू थिए, जसले यो सानी बच्चीलाई देखे अनि जसोतसो अरू जनावरहरूबाट बचाएर राखे । एकदिन कण्व ऋषि त्यहाँबाट जाँदै गर्दा, उनले त्यो विचित्र स्थिति देखे, जहाँ एउटी नवजात शिशु पंक्षीहरूको सुरक्षामा बाँचिरहेकी थिइन् । उनले बच्चीलाई उठाएर आफ्नो आश्रममा ल्याए अनि पालन–पोषण गरे । शकुन पंक्षीहरूद्वारा बचाइएको हुनाले, उनले यी बच्चीको नाम शकुन्तला राखे । उनी हुर्किँदै गइन् अनि एउटी सुन्दर युवती बनिन् ।

एकदिन राजा दुश्यन्त एउटा लडाईंमा गए । लडाईंबाट फर्किने क्रममा उनले आफ्ना सैनिकहरू भोकाएको थाहा पाए । आफ्ना सैनिकहरूको पेट भर्नको लागि उनले जङ्गलमा गएर अन्धाधुन्द जनावरहरूको शिकार गर्न थाले । जब उनले एउटा विशाल भाले हरिणमाथि बाँड हाने, बाँड लागेपनि हरिण भागिहाल्यो । दुश्यन्तले त्यस हरिणलाई पछ्याउँदै गए र अन्ततः शकुन्तलाको काखमा देखे । त्यस हरिणलाई शकुन्तलाले पालेकी थिइन् । उनी एकदमै मायाले हरिणलाई मलमपट्टि गरिरहेकी थिइन् । यो देखेर दुश्यन्त शकुन्तलाको प्रेममा मग्न भए अनि केही समयसम्म त्यहीँ बसे । कण्व ऋषिको अनुमति लिएर उनले शकुन्तलासँग विवाह गरे ।

अब दुश्यन्तको फर्किने समय भएको थियो । किनकि, सेनाको पूरै फौज जङ्गलबाहिर उनको प्रतीक्षा गरिरहेको थियो । उनले शकुन्तलालाई आफ्नो राज्यमा केही चाँजोपाँजो मिलाएर फर्किने वाचा गरे । उनले आफ्नो मायाको चिनो र विवाहको निशानी स्वरूप आफ्नो औँलाबाट शाही औँठी झिकेर शकुन्तलाको औँलामा लगाइदिए । स्वभाविक रूपमा त्यो शकुन्तलाको औँलामा अटेन, उनले त्यसलाई हातमै राखिन् । यसपछि दुश्यन्त “म फर्केर आउनेछु” भनेर गए । यता शकुन्तला भने जतिबेला पनि सपनामा हराइरहेकी हुन्थिन् । वन कि कन्या अचानक महारानी बनेकी थिइन् !

एकदिन दुर्वासा ऋषि कण्वको आश्रममा आए । उनी असाध्यै रिसाहा व्यक्ति थिए । उनले शकुन्तलालाई बोलाए । तर, शकुन्तला आफ्नै संसारमा मग्न भएकी हुनाले आफ्ना आँखा खुलै हुँदापनि उनले केही देख्न सकिनन् । दुर्वासाले यसलाई आफ्नो अपमान ठाने र भने, “अहिले तँ जसको यादमा डुबेकी छेस्, त्यसले तँलाई सधैँको लागि बिर्सियोस् ।” अचानक शकुन्तला झसङ्ग भइन् र उनी रुन लागिन्, “यस्तो हुन सक्दैन ! तपाईंले किन यस्तो गर्नुभयो ?”

आश्रमका मानिसहरूले दुर्वासालाई शकुन्तलाको विवाह राजासँग भएको अनि राजा आएर आफूलाई सँगै लैजाने प्रतीक्षा गरिरहेकी कुरा अवगत गराए । “उनी दिवास्वप्नमा डुबेकी थिइन्, कृपया शकुन्तलालाई माफ गरिदिनुहोस् ।”– ती मानिसहरूले विन्ती गरे । त्यसबेलासम्म उनीहरूले दुर्वासाको राम्रो स्वागत सत्कार गरिसकेका थिए, अनि उनको क्रोध पनि शान्त भइसकेको थियो । उनले भने, “ल भैगो ! म यसलाई अलिकति   सुधार्छु । भलै, उनले तिमीलाई बिर्सिएको भएपनि, जुन क्षण तिमी उनलाई तिम्रो याद दिलाउने चीज देखाउनेछ्यौ, उनले सम्झिनेछन् ।”

शकुन्तलाले राजाको प्रतीक्षा गरिरहिन्, तर दुश्यन्त कहिल्यै आएनन् । उनको एउटा छोरा जन्मियो, जसको नाम भरत राखियो । सम्राट भरतबाटै भारत देशको नाम राखिएको हो, किनकि यी सम्राटमा थुप्रै गुणहरू थिए । उनी एक आदर्श व्यक्ति थिए ।

सम्राट भरतको बाल्यकाल

भरत जङ्गलमै हुर्किए । दुष्यन्त कहिल्यै देखा परेनन् । एकदिन कण्व ऋषिले शकुन्तलालाई भने, “राजा दुष्यन्तसमक्ष जाऊ अनि उनलाई यो स्मरण गराऊ कि तिमी उसकी पत्नी हौ र तिम्रो छोरा पनि छ । एउटा राजाको छोरा आफ्नो बुबाबिनै हुर्किनु राम्रो कुरा होइन ।” शकुन्तला आफ्नो छोरालाई लिएर दरबारतर्फ हिँडिन् । बाटोमा उनीहरूले एउटा नदी पार गर्नुपर्ने थियो । उनी अझै पनि प्रेममै हराइरहेकी थिइन् । जब उनीहरू डुङ्गाबाट नदी पार गरिरहेका थिए, उनले पानीलाई छुनको लागि आफ्नो हात झिकिन् र औँलाभन्दा ठूलो त्यो औँठी नदीमा खस्यो । उनलाई यो कुराको हेक्का समेत भएन ।

उनलाई राजा र दरबारको तौर–तरिकाहरूबारे थाहा थिएन । राजसभामा दुष्यन्तले “तिमी को हौ ?” भनेर सोध्दा शकुन्तलाले भनिन्, “के तपाईंलाई याद छैन ? म तपाईंको पत्नी शकुन्तला हुँ । ऊ तपाईंको छोरा हो ।” दुष्यन्त क्रुद्ध बने, “तँ को होस् ? यस्तो भन्ने आँट पनि कसरी गरिस् ?” उनलाई दरबारबाट जबर्जस्ती बाहिर निकालियो । शकुन्तलाले के भइरहेको छ भनेर केही बुझ्न सकिनन् । “उहाँ मलाई यति धेरै प्रेम गर्नुहुन्थ्यो । तर, अहिले यो के भइरहेको छ ?“ राजा दुष्यन्तलाई शकुन्तलाको बारेमा केही पनि याद थिएन ।

उनी निराश हुँदै फर्किन् । पहिलो पटक उनी समाजबाट उपेक्षित भएकी थिइन् । उनी आश्रम पछाडि रहेको घना जङ्गलमा भित्रसम्म गइन् अनि आफ्नो छोरासँग विरानो ठाउँमा बस्न थालिन् । भरत जङ्गली जनावरहरूसँगै हुर्किँदै गए । उनी अत्यन्तै बहादुर र शक्तिशाली थिए— उनी जुन ठाउँमा हुर्किँदै गए, त्यस माटोसँग उनको गहिरो नाता थियो ।

एकदिन दुष्यन्त त्यसै जङ्गलमा शिकार खेल्न आए । उनले एउटा बालकलाई वयस्क सिंहसँग खेल्दै गरेको, हात्तीमा चढ्दै गरेको देखे । उनी बालकसामु गएर सोधे, “तिमी को हौ ? के तिमी महामानव हौ ? के तिमी देवता हौ ? के तिमी कुनै अर्कै लोकबाट आएका हौ ?” बच्चाले भन्यो, “होइन, म भरत हुँ, राजा दुष्यन्तको छोरा ।” राजाले भने, “अरे ! म नै दुष्यन्त हुँ । कसरी मैले तिमीलाई चिन्न सकिनँ त ?” तब कण्व ऋषि आए अनि उनलाई पूरै घटना विस्तारमा भने । अन्ततः दुष्यन्तलाई सबैथोक स्मरण भयो अनि उनी शकुन्तला र भरतलाई आफूसँगै लिएर दरबार फर्किए ।

(महाभारत अध्याय ४ः सदगुरुको प्रवचनमा आधारित)